कोरोना उपचारमा खटिएका चिकित्सकमाथि कुटपिट

दोलखा। तामाकोसी गाउँपालिका–४ मालु स्थित कोभिड १९ अस्थायी अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । कोभिड बिरामीहरुको उपचार गराइरहेका डाक्टर रोविश कार्की र कार्यालय सहायक टोपबहादुर मिजारलाई स्थानीय युवाहरूले निर्घात कुटपिट गरेका हुन ।

डाक्टर कार्कीले गत बैशाखदेखि कोरोना संक्रमितको मात्रै उपचार गराइरहेको सो अस्पतालमा तामाकोसी गाउँपालिका वडा–४ का स्थानीय युवाहरु गोपाल तिमल्सिना, रोशन पोखरेल, कुमार श्रेष्ठ र विजुली नेपालीको टोलीले आफूहरूलाई कुटपिट गरेको बताउनु भयो । युवाहरु दुईवटा मोटरसाइकलमा मध्यराती उपचारको लागि अएको र कोभिड अस्पतालमा संक्रमणको जोखिम हुने भएकाले भित्र नआइ बाहिरनै उपचार गर्छु भन्दा आफूहरूमाथि कुटपिट भएको कार्कीको भनाई छ ।

ढोका लगाएपनि बाहिरबाट ढोका हानेर ज्यान मार्नेसम्मको धम्की दिए र केही समयपछि उनीहरु मोटरसाइकल चढेर गएको डाक्डर कार्कीले जानकारी दिनुभयो । आफूहरमाथि आक्रमण हुन थालेपछि पालिका र प्रहरीमा खबर गरेपनि राती साढे १ बजेको समयमा मात्रै प्रहरी घट्ना स्थलमा पुगेका थिए । छौडे र किर्नेटारबाट प्रहरी त्यँहा पुगेका थिए ।

कुटपिटमा सामेल युवाहरूमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार घटनालाई निकै गम्भीरतापुर्वक लिई आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिएको हो ।


प्रकाशित | १३ असार २०७८, आईतवार १७:४०