‘ओसिनिया सम्मेलन नेपालको आर्थिक सम्मृद्धिमा कोशेढुंगा शावित हुने विश्वास लिएका छौ’

धर्मराज अधिकारी, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ओसेनिया संयोजक हुन् । नुवाकोटको तारुकामा जन्मिएका अधिकारी  २३ वर्षअघि अध्ययनको सिलसिलामा अस्ट्रेलिया प्रवेश गरे ।अधिकारी हाल एनआरएनए अष्टेलिया महादेश संयोजक छन । साथै, अस्ट्रेलियामा सफल व्यवसायीको रूपमा अधिकारीले आफ्नो पहिचान स्थापित गरेका छन् । अष्ट्रेलियामा डोमिनो पिज्जाको फ्रेन्चाइजी सञ्चालन गरिरहेका अधिकारी नेपाल र नेपालीकै लागि भएका कारण एनआरएनए अभियानमा सक्रिय भएर लागेको बताउँछन् । आगामी मे ११ र १२ मा आयोजना हुन लागेको तेस्रो ओसिनिया क्षेत्रीय सम्मेलन २०१९ को तयारीमा व्यस्त अधिकारीसँग हामीले  एनआरएनए, ओसिनिया क्षेत्रीय सम्मेलन तथा अष्ट्रेलियामा नेपाली तथा एनआरएन अभियानको समग्र विषयमा कुराकानी गरेका छौ । अधिकारीसँग गरिएको कुराकानीको  सारसंक्षेप :

नुवाकोटको एउटा गाउँमा जन्मेको सामान्य मान्छे, अहिले अष्ट्रेलियामा एउटा सफल व्यवसायीको रुपमा चिनिनुहुन्छ । यो सफलता कसरी हासिल गर्नुभयो ?

सफलता–असफलता भन्ने कुरा म मान्दिन । म केवल सत्कर्म र इमानदारीतालाई मान्छु । एक जना किसानले आफ्नो परिवारलाई पुग्ने अनाज उत्पादन गरेर थोरबहुत बेचेर आर्थिक उपार्जनसमेत गर्दछ भने त्यो पनि भव्य सफलता हो । सबै मान्छेले जीवनमा एउटा–एउटा काम गर्छन् । मैले पनि त्यस्तै एउटा काम गरेको हुँ । कुनै पनि काम गर्न मान्छेमा एउटा इच्छाशक्ति हुनुपर्छ । म काठमाडौँमा हुँदा वा दिल्लीमा हुँदा पनि बिजनेस नै गर्थे । अस्ट्रेलिया चैँ एजुकेसनको हिसाबले आइयो । सुरुमा काम गरे तर, बिजनेस गर्ने चहनाका कारण बिजनेस शुरु गरे । म कति सफल छु भनेर त अरूले मूल्यांकन गर्ने हो, मैले भन्ने होइन । समग्रमा भन्नुपर्दा म आफूले गरेको सम्पूर्ण कामप्रति खुसी र सन्तुष्ट छु ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

अहिले व्यापार व्यवसायसँगै सामाजिक क्रियाकलापहरुमासमेत व्यस्त छु । व्यक्तिगतरुपमा त जन्मभूमिका विभिन्न स्कुलहरूलाई सहयोग गरिरहेको छु । अहिले नेपालमा शान्तिपूर्ण माहोल बनेको छ । अहिले दुई तिहाइको स्थिर सरकार बनेको छ । मौकाहरू खोजी रहेका छौँ र अहिले बाहिर बस्ने धेरै नेपालीहरूले नेपालमै लगानी गर्ने सोच बनाएका छन् । त्यसमध्येमा म पनि एक हुँ । अब छिट्टै एउटा कार्यक्रम लिएर नेपालमा जाँदै छु । कार्यव्यस्तताको कारणले गर्दा अलिकति असहज भएको छ । तर, केही गर्ने सोच अवश्य बनाएको छु । मैले सहभागिता धेरै होस भनेर नेपालमा सामूहिक लगानी गर्ने गरी साथीहरूसँग सरसल्लाह गर्ने कार्यलाई पनि अघि बढाइरहेको छु । नेपालको अवस्थालाई हेर्ने हो भने नयाँ व्यापार व्यवसाय सुरु गर्न अझ पनि गा¥है छ । तर नहुने र गर्न नसकिने कुरा भने केही पनि हुँदैन । नेपालमा धेरै सम्भावनाहरू छन् । नेपालमा एउटा धुलोलाई मात्र कन्ट्रोल गर्ने हो भने अर्बौँ पैसा कमाउन सक्छौ । तर त्यसलाई गर्न दिने नदिने भन्ने बेग्लै कुरा हो । देशलाई सिस्टमेटिक बनाउनुपर्छ, यति मात्र गर्न सक्यौ भने देश आफै स्वतः समृद्ध बन्दै जान्छ ।

एनआरएनए ओसिनिया क्षेत्रीय सम्मेलनबारे बताइदिनुहोस ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन यही आउँदो मे ११ र १२ मा हायात रेजेन्सी, डार्लिङ हार्बर सिडनी, अष्टेलियामा हुँदैछ । म एनआरएनए अष्ट्रलिया महादेश संयोजकको हैसियतले यस्तो महत्वपूर्ण भेलाको खबर दिन पाउँदा अत्यन्तै खुसी छु । ओसिनिया क्षेत्रीय सम्मेलन भन्नाले नै यो ओसिनिया क्षेत्रको सम्मेलन हो र यो सम्मेलनमा यो क्षेत्रको बारेमा चर्चा र विशेष छलफल हुनेछ ।

ओसिनिया क्षेत्रीय सम्मेलनको मुख्य उद्देश्यहरू के–के छन् ?

ओसिनिया क्षेत्रको सम्मेलन भएकाले मुख्य कुरा त यो क्षेत्रका उपलब्धि, अवसर, समस्या र आगामी दिनकालागि योजना कार्ययोजनाबारे विशेष चर्चा र छलफल हुनेछ । त्यस्तै ओसिनिया क्षेत्रीय सम्मेलनको मुख्य उद्देश्य भनेको नेपाललाई समृद्ध बनाउन कसरी एनआरएनएले बढीभन्दा बढी लगानी, आविष्कार र पर्यटक भित्र्याउन सकिन्छ भनेर विशेष छलफल गर्ने हो । अर्थात, काम गर्ने सिलसिलामा विदेशिएका नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप, क्षमता, अनुभव, शिक्षा र कमाई लाई कसरी नेपालमा बृहत्तरुपमा लैजाने भन्नेबारे वृहत् बहस र विमर्श सम्मेलनमा हुनेछ । समग्रमा, नेपालको समृद्धिमा कसरी हातेमालो गर्ने भन्ने बारे नै बृहत् छलफल हुने हो । त्यसर्थ, हाम्रो भेलाको मूल नारा नै– ‘सधैँ सबैकोलागि र समृद्ध नपालेकोलागि गैरआवासीय नेपाली’ भन्ने छ । साथै, सम्मेलनमा नयाँ कार्यसमिति चयनलगायतका विषयहरु पनि छन ।

नेपालको पर्यटन प्रवद्र्धनमा पनि यो सम्मेलनले मद्दत गर्ने भनिएको छ, कस्तो योजना छ त्यसका लागि ?

हो, अत्यन्तै राम्रो प्रसङ्ग उठाउनु भयो । विशेष त हाम्रो देशको विकास र समृद्धिको प्रमुख आधार भनेकै पर्यटन, कृषि र विद्युत् हो । तसर्थ, हामीले नेपालमा रहेको पर्यटनको प्रचुर अनन्त सम्भावनालाई मध्यनजर गर्दै कसरी नेपालको पर्यटन प्रवद्र्धन गर्ने भन्नेबारे विशेष छलफल चलाउने छौँ । जसले गर्दा, नेपाल सरकारको उद्देश्य अनुसारको ‘भिजिट नेपाल–२०२०’ अभियानलाई अत्यधिक सहयोग पुर्याउन सकिने छ । खासमा, नेपाल त प्राकृतिक एवं सांस्कृतिक रूपमा विश्वकै धनी मुलुक हो । जसले गर्दा नेपालमा पर्यटनको अत्यन्तै सम्भावना रहेको छ त्यसलाई क्यास गरेर अब नेपाल समृद्धिको दिशामा लम्किनु पर्दछ भन्ने हाम्रो अवधारणा हो । यसमा हामीले यो सम्मेलनबाट विशेष सहयोग पुग्ने अपेक्षा गरेका छौं ।

सम्मेलनमा कति मुलुकको प्रतिनिधित्व हुनेछ र कति प्रतिनिधीहरु उपस्थित हुँदैछन ?

सम्मेलनमा विश्वभरबाट लगभग २० भन्दा बढी मुलुकमा रहेका गैरआवासीय नेपालीहरूको सहभागिता रहने अनुमान रहेको छ । साथै, सम्मेलनमा प्रमुख अतिथि, अन्य अतिथि, विभिन्न पर्यवेक्षकहरु, सञ्चारकर्मीहरू, पर्यटनविदहरु, कला तथा विज्ञहरु, व्यवसायीहरू, सामाजिक अभियन्ताहरू, एनआरएनएका सहकर्मी संस्थाका प्रतिनिधिहरू, स्वयंसेवीहरू, नेपालका विशिष्ट व्यक्तित्वहरूलगायत धेरै व्यक्तित्वहरूको सहभागिता रहने छ ।

सम्मेलनको कार्यक्रम ढाँचा कस्तो रहेको छ ?

सामान्यतः सम्मेलनको कार्यक्रम ढाँचा अन्य संघसंस्थाहरूको जस्तै क्रमबद्ध प्रक्रियागत नै छन् । ११ मे मा उद्घाटन समारोह र बन्द सत्र हुनेछ भने भोलिपल्ट १२ मे मा सम्पूर्ण एजेन्डाहरूमा विशेष छलफल, छलफलबाट प्राप्त सल्लाह, सुझाव र निष्कर्षसहितको पत्रकार सम्मेलन हुनेछ । समग्रमा सम्मेलन सभ्य, भव्य र फलदायी रहने छ भन्ने मेरो पूर्ण विश्वास छ ।

सम्मेलनबारे सूचनाहरू के–कसरी प्रवाह भईरहेको छ ?

हामीले सम्मेलन भव्य बनाउने हेतुले सकेसम्म विश्वभरिका सबै गैरआवासीय नेपालीहरू र अन्य सम्पूर्ण सरोकारवालाहरूले सम्मेलनबारे सूचना पाउन भनेर सञ्चार जगत र सामाजिक सञ्जाललगायत सबै मिडियाहरुमार्फत व्यापक सूचना प्रवाह गरिनैरहेका छौ । आधुनिक सूचना सञ्चारबाट टाढा भएका मानिसहरूलाई पत्राचार समेत गरिरहेका छौ ।

सम्मेलनले के कति फाइदा पुर्याउछ समग्र पक्षमा ?

हरेक भेला तथा सम्मेलन फाइदाजनक नै हुन्छ । अझ योे ओसिनिया क्षेत्रीय सम्मेलनको त झनै विशेष विशेष फाइदाहरू छन् । विशेषतः यो सम्मेलनले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकठाँउमा जमघट गराइदिएर आ–आफ्ना भावना साटासाट गराउनुका साथै देशका लागि केही गरौँ भन्ने मनोबल बढाउने छ । साथै, देशको विकास हामी सबै नेपालीहरूको साझा दायित्व र कर्तव्य हो भन्ने कुराको महसुस गराउने छ । र, नेपाललाई कसरी विकास र समृद्धिको दिशामा लैजान सकिन्छ भन्नेबारे विभिन्न छलफल हुने भएकोले त्यसबाट विभिन्न ज्ञान, विधि, सूचना, विज्ञान, अनुभव, क्षमता, कला र सिद्धान्तहरूबारे समेत जानकारी हुनेछ । नेपालीहरूमा देश विकासमा हामीले नै लगानी गर्नुपर्ने रहेछ भन्ने मनोभाव जागृति गराउनेछ यो सम्मेलनले ।

एनआरएनए धनीकै संस्थामात्र हो भन्ने पहिलेदेखि आरोप लाग्दै आएको छ नि ?

एनआरएनए भनेको हामी सबै नेपाल छाडेर आएका गैरआवासीय नेपालीे डायस्पोराहरुको साझा संस्था हो । आज म अष्टे«लियामा छु, म जस्तै अरु असी देशमा गैरआवासीय नेपालीहरू छन् वहाँहरूले चाहे पनि नचाहे पनि देश छोडिसकेपछि वहाँहरू स्वतः एनआरएन हुनुभयो । सदस्यता लिने कुरा बेग्लै हो । मैले देखेअनुसार यो संस्था धनी, गरिब, शिक्षित, अशिक्षित सबैको साझा संस्था हो । हामीले सिकेको सीप र आर्जन गरेको सम्पत्तिलाई आफ्नो देश विकासमा लगानीस्वरुप लैजाने प्रमुख अभिप्राय नै संस्थाको मूल र साझा धारणा हो । त्यसकारण यहाँ धनी पनि छन् , गरिब पनि छन र अन्य सबैखाले वर्ग, धर्मका मानिसहरू पनि छन् ।

यहाँ एनआरएनए अभियानबाट सन्तुष्ट हुनुहुन्छ त ?

सन्तुष्टि वा असन्तुष्टि भनेको मान्छेको मनमा हुने भावना हो । मैले गरेको कुरा, म हिँडिरहेको बाटोहरू सही छ कि छैन भन्ने कुरा त आफ्नो अन्तरआत्माले, आफैले बुझ्ने कुरा हो । एनआरएनए पनि एक किसिमको फेसबुक जस्तो सामाजिक सञ्जाल हो । किनभने यसले लाखौँ नेपाली मनहरूलाई एकअर्कामा कनेक्सन गराइदिएको छ । नेपालीहरूबीच भातृत्व भाव विकास गरिदिएको छ । यसलाई नकारात्मक तरिकाले भन्दा पनि सकारात्मक तरिकाले सोच्नुपर्छ । र, सन्तुष्टिकै कुरा गर्नुहुन्छ भने म सामाजिक प्राणी भएकोले सामाजिक अभियानमा जति सकेको सक्रिय सहभागी हुन पाउँदा बहुतै सन्तुष्ट छु ।

एनआरएनएमा प्राय चुनाव जित्नुभन्दा पहिला ठूला–ठूला सपना बाँडेर चुनाव जितेपछि अर्को चुनाव नआएसम्म गुमनाम हुने र फेरि चुनाव आएपछि चाहिँ पुनः अघि सर्ने प्रवृत्ति बढ्दो छ । यहाँले यो झन्डै डेढ वर्षको कार्यकालमा के–के काम गर्नुभयो ?

क्षेत्रीय संयोजनको काम भनेको त्यो क्षेत्रमा रहेका एनसीसीसँग मिलेर काम गर्ने हो । मैले जहाँ हाम्रो सङ्गठन बनेको छैन त्यहाँ सङ्गठन बनाउने आधारहरूको खोजीमा विशेष पहल गरे । अहिले तत्काल फिजीमा हाम्रो सङ्गठन विस्तारको खाँचो मैले महसुस गरेको छु । साथै हाम्रै नेतृत्वमा सेप्टेम्बर १५ मा सिड्नीमा लगभग २०० जनाको विशेष सहभागितामा ‘नलेज कन्भेन्सन’ ग¥यौ । जसले नेपालमा अक्टोबरमा सम्पन्न ‘विज्ञ सम्मेलन’ लाई विशेष सहयोग पु¥यायो । साथै, अन्यत्रका क्षेत्रहरूमा हुने सम्मेलनलाई सहयोग पुर्याउनुपर्ने पनि हाम्रो दायित्व हो भन्ने मनोभाव अनुसार काम गरे । म एनआरएन अभियानका प्राय सबै कार्यक्रमहरूमा नियमित सक्रियरुपमा सहभागी भइरहेको छु । निरन्तर यो अभियानमा लागिरहेको छु ।

भविष्यमा पनि तपाईँ एनआरएनए अभियानमा नियमित सक्रिय रहिरहनु हुन्छ कि, अरु नै सोच छ ?

एनआरएनए अभियानमा मेरो विगत र वर्तमानको सक्रिय सहभागिताले गर्दा भोलिका दिनमा पनि म यस अभियानको नेतृत्व पंक्तिमा अटाउन सक्छु कि जस्तो लाग्छ । सायद मेरो पनि पालो आउँछ होला र केही नवीन सोचाइहरू बन्छन पनि होला । भविष्यमा पनि मलाई एनआरएन अभियानमा रहेर काम गरिरहन नै मन छ । सम्भावना के कसो हुन्छ हेर्दै जाँउ, त्यो समयले बताउने कुरा हो ।

अन्तमा के भन्न चाहनुहुन्छ ?

हामी सबै मिलेर ओसिनिया क्षेत्रीय सम्मेलन सफलरुपमा सम्पन्न गरौँ । तपाईहरू सबैको साथ र सहयोग विना हाम्रो सम्मेलन सफल हुन सक्दैन । हामी नेपाली आखिर विश्वभरी जहाँजहाँ छरिएर रहेता पनि हाम्रो जन्मथलो भनेको आखिर नेपाल नै हो । त्यसर्थ, नेपालको विकासमा जति सकेको योगदान पुर्याउनु हामी सबैको साझा दायित्व र कर्तव्य हो । आउनुहोस सबै मिलेर एकताको भावनासहित नेपालको समृद्धिको अभियानमा आ–आफ्नो ठाउँबाट जति सकेको योगदान गरौँ । अन्तमा, ओसिनिया क्षेत्रीय सम्मेलन भव्यरुपमा सम्पन्न हुनेछ भन्ने विश्वास सबैमाझ जाहेर गर्न चाहन्छु ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार ०९:०१