एएफसी यू–१९ : नेपालले आज बलियो टिम अष्ट्रेलियाको सामाना गर्दै

काठमाडौं: एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ । समूह ‘ए’ कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

अष्ट्रेलियालाई रोक्दै नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । फिफा वरियतामा १२० औं स्थान माथिको अष्ट्रेलियालाई रोक्न नेपाललाई कठिन चुनौती भने हुनेछ । फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा रहेको छ । नेपाल भने १६० औं स्थानमा रहेको छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल कम गोल खाने प्रयासमा समेत हुनेछ ।
नेपालले गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा उपविजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भएको थियो । पहिलो चरणमा भारतमाथि २–० र पाकिस्तानमाथि ९–० को जित निकालेको नेपाल घरेलु टोली थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।

नेपाली टोलीः सरु लिम्बु (कप्तान), अन्जना राना मगर, रेविका राई, उषानाथ, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती, रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् ।

मुख्य प्रशिक्षकः हरिओम श्रेष्ठ

प्रशिक्षकः प्रकाश वैद्य

गोलरक्षक प्रशिक्षकः अस्मिता खवास

टिम म्यानेजरः जमुना गुरुङ

फिजियोः नवीना श्रेष्ठ


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार ०८:४३