नागरिकता विधेयक अघि बढ्नु स्वागत योग्य : रामप्रताप थापा

काठमाडौं: लामो रस्साकस्सी पछि नयाँ दर्ता भएको नागरिकता विधेयक अघि बढेकोमा गैर आवासीय नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।

विश्व सन्देशसंग कुरा गर्दै गैर आवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका पूर्व संयोजक तथा संरक्षक राम प्रताप थापाले नागरिकता विधेयक अघि बढ्नु स्वागत योग्य भएको बताउनु भएको हो ।

नागरिकता विधेयक गैर आवासीय नेपालीहरुसंग प्रत्यक्ष जोडिएकाले पनि एनआरएनको लागि यो प्रमुख मुद्धाको विषय बनेको छ ।

यसअघि ४ वर्षदेखी अलपत्र अवस्थामा रहेको नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशाशन समितिबाट पारित भएर प्रतिनिधिसभामा पेश भएपनि सो विधेयक फिर्ता भएपछि गैर आवासीय नेपालीहरुमा निराशा छाएको थियो ।

नयाँ नागरिकता विधेयक सरकारले संशोधन सहित प्रतिनिधिसभामा पुनः पेश गर्दै अघि बढाएको छ । जसलाई गैर आवासीय नेपालीहरुले स्वागत योग्य कदम भएको भन्दै अब जसरी पनी पारित हुनेमा विश्वस्त छन् ।

गैर आवासीय नेपाली संघको स्थापना कालदेखी नै एनआरएन नागरिकता मुख्य मुद्धा बन्दै आएको छ । सन् २००३ सालदेखि एनआरएनए कार्यदलमा नेतृत्वदायी भुमीका निर्वाह गर्दै आउनु भएको थापा एनआरएन नागरिकता जतिसक्दो छिटो पारित भई कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुहुन्छ ।

उहाँले संस्थापक, पुर्व अध्यक्ष, राजदुत तथा राजनीतिक दलहरुसँग निरन्तर लविङ गर्दा संविधानमा उल्लेख गर्न सफल भएको बताउँदै सात वर्षसम्म पनि संविधानले दिएको अधिकार नपाउनु उचीत नभएको बताउनु भयो ।

थापाले नागरिकता विधेयक पारित गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । उहाँले गैर आवासीय नेपाली नागरिकता जतिसक्दो कार्यान्वयनमा आयो त्यति नै नेपाल र डायस्पोराका नेपालीबिचको सम्बन्ध थप मजबुत बन्ने बताउनु भयो ।

संविधानले दिएको अधिकार प्राप्तिका लागि धेरै संघर्ष भएको भन्दै अब यो विषयले पार पाउनुपर्नेमा पनि थापाको विशेष जोड छ ।


प्रकाशित | २९ असार २०७९, बुधबार २३:३०