अझै केहीदिन अविरल वर्षा हुने, सचेत हुन आग्रह

काठमाडौ । आगामी तीन दिन सम्म अविरल वर्षा हुने भएको छ । मनसुन शुरु भएलगत्तै अविरल वर्षा भैरहेको छ । यो क्रम अझै केहीदिन जारी रहने अनुमान गरिएको छ । असार पहिलो दिन देखि नै शुरु भएको मनसुन यसपटक विगतमा भन्दा फरक देखिएको छ ।

मनसुन शुरु भएसंगैको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा जनधनको ठुलो क्षति भयो । असार लागे लगत्तै शुरु भएको यो वर्षाले सिन्धुपाल्चोकमा मात्रै नभएर देशका अरु ठाउँमा पनि क्षति पुर्‍याएको छ ।

बंगालको खाडीबाट पसेको मनसुनी वायुले यसअघि तराई पहाड हुँदै हिमाली जिल्लामा वर्षा गराउने गरेको थियो । तर यस पटक त्यस्तो भएन एकै पटक हिमाली जिल्लामा ठूलो वर्षा भयो । यसअघि वर्षा नै नहुने र भएपनि थोरै मात्र वर्षा हुने मुस्ताङ र मनाङमा पनि भारी वर्षा भएको छ ।

मनसुन सुरु हुनुअघि नै मौसमविद्हरुले यो वर्ष हिमाली क्षेत्रमा बढी पानी पर्ने अनुमान गरेका थिए । उनीहरुले हिमाली क्षेत्रमा औसतभन्दा धेरै वर्षा हुने भन्दै सम्बन्धित निकायलाई सचेत पनि गराएका थिए । मौसमविद्को पूर्वानुमान अनुसार नै अहिले वर्षा भैरहेको छ ।

वर्षा अझै रोकिएको छैन । धेरैजसो पहाडी भूभाग भएको गण्डकी प्रदेश, बाग्मती प्रदेशका साथै लुम्बिनी प्रदेशमा अहिले व्यापक वर्षा भइरहेको छ ।

भारतको विहारमा विकसित न्यून चापीय रेखा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा केन्द्रीत छ । दाङ, रुपन्देही, बाग्लुङ्ग, कास्की, म्याग्दी, लम्जुङ, गोरखा, धादिङ्ग चितवन, रसुवा नुवाकोट, मुस्ताङ र मनाङमा सिन्धुपाल्चोक लगायतका जिल्लामा अझै वर्षाको संभावना छ ।


प्रकाशित | २ असार २०७८, बुधबार २०:५२