घले पक्षको महाधिवेशन शूरु, अर्थमन्त्री शर्माद्धारा उद्घाटन

काठमाडौं – गैर आवासीय नेपाली संघमा उत्पन्न विवादका बीच डा. शेष घले पक्षधरले दशौ महाधिवेशन र विश्व सम्मेलन शूरु गरेको छ । संस्थापन समूहले २४ र २५ तारिखमा महाधिवेशन आयोजना गरिरहँदा घले समूहले छुट्टै महाधिवेशन आयोजना गरेको हो ।

घले पक्षको महाधिवेशन अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नु भयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै अर्थमन्त्री शर्माले विदेशमा सिकेको ज्ञान, सिप, प्रविधि र पुँजी मुलुकुको सम्मृद्धिको लागि लगानी गर्न आग्रह गर्नु भयो ।

नेपालमा लगानी गर्दा कतीपय ब्यवहारीक कठिनाई रहेको र त्यसलाई सच्याउन लागिपरेको बताउँदै अर्थमन्त्री शर्माले आफ्नो मातृभूमीमा जस्तो सुकै अप्ठ्यारो भए पनि लगानी गर्न आग्रह गर्नु भयो ।

देशको विकासका लागि वार्षिक १७ देखि २० खर्ब लगानी आवश्यक रहेको पनि अर्थमन्त्री शर्माले जानकारी गराउनु भयो । साथै उहाँले गैर आवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोल्न आह्वान गर्नु भयो ।

एनआरएनए पूर्व अध्यक्ष डा. शेष घलेले सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नु भयो । उहाँले भिजन- २०२० एण्ड वियोण्ड पारित हुँदा पनि कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको बताउनु भयो । विश्वको प्रत्येक देशमा मिनी नेपाल भइसकेको बताउँदै घलेले एनआरएनए नेपाल सरकार र नेपाली समुदायको सहयोगी बन्न सक्नुपर्ने बताउनु भयो ।

कार्यक्रम आयोजक समितिका संयोजक सोनाम लामाले आफूहरु विधि र विधानअनूसार अगाडि बढेको बताउनु भयो । उहाँले संस्था कसैको भागबन्डाको विषय नभएको र भागबन्डाको आधारमा चल्न नसक्ने बताउनु भयो ।

लामाले  विधान, विधी र प्रक्रियाबाट निर्वाचन गर्नुपर्ने बताउँदै संघ गैर-राजनीतिक संस्था भएको र कसैको दबाबमा चल्न नसक्ने बताउनु भयो ।

घले पक्षले आयोजना गरेको कार्यक्रममा अध्यक्षका उम्मेदवार समेत रहनु भएको कुल आचार्य भने सहभागि हुनु भएन् । आचार्यले सोमबार राति मात्रै संस्थापन पक्षसँग मिलेर आलोपालो नेतृत्व गर्ने गरि सहमति गर्नु भएको थियो ।

आज बिहान संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गर्दै आचार्य, डा. बद्री केसी र रविना थापाले आलोपालो नेतृत्व गर्ने सहमति भएको बताउँदै सहमतिको आधारमा यही मार्च २४ र २५ तारिखमा हुन लागेको महाधिवेशन सम्पन्न गर्ने निर्णय सार्वजनिक गर्नु भएको थियो ।


प्रकाशित | ८ चैत्र २०७८, मंगलवार १३:२८