गैर आवासीय नेपाली संघको निर्वाचन ६ महिना पछि सार्न प्रस्ताव

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को निर्वाचन ६ महिना पछि सार्न प्रस्ताव गरिएको छ । कोभिड- १९ को विश्वब्यापी महामारीका कारण तत्काल निर्वाचनमा जानु उपयुक्त नभएको भन्दै निर्वाचन सार्न प्रस्ताव गरिएको हो ।

विश्वभरका एनआरएनए एनसिसीहरु धमाधम निर्वाचन प्रक्रियामा गइरहँदा क्षेत्रीय संयोजकहरुले कोभिड -१९ महामारीको कारण एनसिसीहरु निर्वाचनमा भन्दा नेपालमा स्वस्थ्य सामाग्री सहयोगको लागि आर्थिक संकलनमा केन्द्रित हुनु परिरहेकाले तत्काल निर्वाचन गर्नु उपयुक्त नहुने भन्दै निर्वाचन सार्नुपर्ने विषयमा छलफल प्रारम्भ गरेका हुन ।

एनआरएनए यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आरसीहरुको अनौपचारिक छलफलको क्रममा विधानमा भएको ब्यवस्था अनुसार नै ६ महिना सार्नुपर्ने विषयमा छलफल भएको बताउनु भयो । छलफलको क्रममा सबै आरसीहरुको एउटै राय रहे पनि औपचारिक निर्णय भने नभएको बताउनु भयो । यद्यपी यो छलफलको विषय भएकाले पुन: आरसीहरुको बैठक बसेर प्रस्ताव लगिने उहाँले बताउनु भयो ।

संयोजक आचार्यले एनसिसीहरुले पनि निर्वाचन सार्न चाहान्छन र ६ महिना सार्दा वातावरण सहज हुन्छ भने आइसिसीमार्फत पहल गर्नुपर्नेमा जोड दिनु भयो ।  केहि एनसिसीहरुले तोकेको समयभित्र निर्वाचन गर्न आइसिसीले दिएको निर्देशन अनुसार लागिपरे पनि तत्काल गर्न कठिनाई भइरहेको बताउँदै आएका छन् । 

उता गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले भने आगामी जुलाईभित्र निर्वाचन सम्पन्न गर्न एनसिसीहरुलाई निर्देशन दिइसकेको छ । केन्द्रको निर्देशन अनुसार यतिखेर विश्वभरका एनसिसीहरु धमाधम निर्वाचनको तयारीमा जुटिरहेका छन् ।

कोरोना महामारीका कारण प्रभावित भइरहेको एनआरएनएको निर्वाचन फिजीकल रुपमा सम्भव नभए पनि भर्चुअल अर्थात अनलाईनको माध्यमबाट भइरहेको छ । अमेरिकामा अनलाईन भोटिङमार्फत निर्वाचन सम्पन्न भएको छ भने ओमानमा भर्चुअल जुममार्फत सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । यो पटक अधिकांश देशमा अनलाईन भोटिङमाफर्त निर्वाचन हुँदैछ ।

आगामी (२०२१–०२३) कार्यकालको लागि नयाँ कार्यसमिति चयन हुने निर्वाचनको लागि एनसिसीहरुले नयाँ सदस्यता खुला र नवीकरणको लागि समय सीमा तोक्दै निर्वाचन समिति गठन गरिसकेका छन् । ठूला एनसिसीहरु अष्टेलिया, यूकेले आगामी जुलाई ३१ र जापानले जुलाई २५, कतारले ९ तारिखका लागि चुनावको मिति घोषणा गरिसकेका छन् भने अन्य एनसिसीहरु मिति घोषणाको तयारीमा छन् ।


प्रकाशित | २८ जेष्ठ २०७८, शुक्रबार १६:२७