लुक्ला विमान दुर्घटना : शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइयो

काठमाडौं : लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा परी मृत्यु भएका २ जनाको शव काठमाडौं ल्याइएको छ । शव पोस्टमार्टमको लागि महाराजगञ्जको त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ल्याइएको हो । विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट सुनील सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको शब पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागमा ल्याइएको हो । पोस्टमार्टमका लागि ल्याइएको दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका प्रहरीका असई रुद्र बहादुर श्रेष्ठको भने ग्रान्डी अस्पतालमा मृत्यु भएको थियो । पोस्टमार्टमका लागि शब अस्पतालमा ल्याइए पनि प्रहरीको अनुसन्धान जारी रहेकाले पोस्टमार्टमको काम भने शुरु भइनसकेको जनाइएको छ ।

बिहान लुक्लाबाट रामेछापको मन्थलीका लागि उड्न लागेको समिट एयरले २ ओटा हेलिकप्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । विमानले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर दिदाँ भएको दुर्घटनामा ३ जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए । दुर्घटनाको विस्तृत अध्ययनको लागि नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान) को प्राविधिक टोली घटनास्थलमा पुगी अध्ययन गरिरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १९:१२