विश्वमै पहिलो पटक मलेरियाको भ्याक्सिन प्रयाेग

एजेन्सी: अफ्रिकी देश मलावीमा पहिलो पटक मलेरियाको भ्याक्सिन सार्वजनिक गरिएको छ । विश्वभरि प्रत्येक वर्ष चार लाख पैतिस हजार बालबालिकाको ज्यान जाने यो रोगबाट बच्नका लागि ३० वर्षदेखि प्रयास जारी थियो । यो भ्याक्सिन पाँच महिनादेखि दुई वर्षका बालबालिकाका लागि विकसित गरिएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मलावी सरकारको यो ऐतिहासिक कार्यक्रमको स्वागत गरेको छ । विश्व स्वास्थ्य संगठनले धेरै पहिला अफ्रिकी महाद्वीपमा दुई वर्षभन्दा कम उमेरका बालबालिकाको लागि यो भ्याक्सिन प्रयोगमा ल्याउने घोषणा गरेको थियो । विश्व मलेरिया दिवस प्रत्येक वर्ष २५ अप्रिलमा मनाइँदै आइएको छ ।

यो भ्याक्सिन बालबालिकालाई मलेरियाबाट बचाउनका लागि सुरु गरिएको पायलट प्रोजेक्टको एक हिस्सा हो । यो भ्याक्सिनको नाम ‘आरटीएस,एस’ राखिएको छ । डब्ल्यूएचओका अनुसार, अफ्रिकी महाद्वीपका दुई देश घाना र केन्यामा आगामी हप्ता यो भ्याक्सिन प्रयोगमा ल्याइनेछ । यस घातक रोगबाट विश्वमा प्रत्येक मिनेट २ बालबालिकाको ज्यान जाने गरेको छ ।

मलेरियाबाट अफ्रिकामा धेरैले ज्यान गुमाउने गरेका छन् । अफ्रिकामा मलेरियाका कारण प्रत्येक वर्ष २ लाख ५० हजारले ज्यान गुमाउने गरेका छन् । डब्ल्यूएचओको अनुमानको अनुसार, दक्षिण पूर्व एसियामा मलेरियासम्बन्धी दर्ता हुने घटनामध्ये ८९ प्रतिशत भारतबाट मात्रै हुने गर्दछ । नेशनल भेक्टर बोर्न डिजिज कन्ट्रोल प्रोग्राम (एनभीबीडीसीपी) का अनुसार, सन् २०१६ मा १० लाख ९० हजार ७ सय २४ घटना दर्ता भएका थिए, जसमध्ये तीन सय ३१ ले ज्यान गुमाएका थिए ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १३:०१