प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट आजबाट सुरु

काठमाडौं:  प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शुक्रबार) काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुदैछ ।  प्रतियोगिताको उद्घाटन नेकपाका सह-अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

मुलपानी क्रिकेट मैदानको काम निर्धारित समयमा नसकिएकाले त्रिवि मैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन गर्न लागिएको हो ।राष्ट्रिय खेलकुद परिषद् राखेपले प्राविधिक कारणले मुलपानी क्रिकेट मैदानको काम नसकिएकाले उद्घाटन कार्यक्रम त्रिवि मैदानमा गर्न लागिएको जनाएको छ ।

यसअघि मुलपानी मैदानमा प्रतियोगिताको उद्घाटन गर्ने तयारी थियो ।राखेप र नीजि कम्पनी नेपालयको संयुक्त आयोजनामा प्रधानमन्त्री कपको तेस्रो संस्करण सुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर २ र विभागीय टिम आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा तीन विभाग सहित ७ प्रदेशले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार ११:३१