एनआरएनए क्यानडाको टोरोन्टोमा सम्पर्क कार्यालय स्थापना

टोरोन्टो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्यानडाले आफनो सम्पर्क कार्यालय स्थापना गरेको छ । टोरोन्टोमा पहिलोपटक सम्पर्क कार्यालय स्थापना गरेको हो । क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गर्नुभयो । नवनिर्वाचित एनआरएनए क्यानडाका पदाधिकारिहरुको विशेष सक्रियता कार्यालय स्थापना भएको हो ।

टोरोन्टोको स्कारबोरोमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन भएसंगै ग्रेटर टोरोन्टोमा बसोबास गर्ने नेपाली समुदायका लागि दूतावाससंग सम्बन्धित कामकाजका लागि नेपाली दूतावास नै पुग्नु पर्ने समस्या पनि अब न्यूनिकरण भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै राजदूत ढुंगानाले क्यानडामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको सहजताका लागि एनआरएनए क्यानडासंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले कार्यालय स्थापना भएसँगै अबदेखि नेपालीहरुले दूतावाससँग सम्बन्धित जुनसुकै समस्या पनि सिधै स्कारबोरोस्थित एनआरएनएको कार्यालयमा गएर जानकारी गराउन सकिने बताउनुभयो । अध्यक्ष घिमिरेका अनुसार गैर आवासिय नेपाली संघको कार्ड वितरण प्रक्रिया शुरु भइसकेकाले इच्छुक व्यक्तिले सिधै कार्यालयमा सम्पर्क गर्न सके राजधानी अटोवा पुग्नुपर्ने झन्झटबाट हुन सकिने भएको छ ।

महिनामा कम्तिमा दुईपटक नेपाली राजदूत सो कार्यालयमा आएर समस्याको सम्बोधन गर्ने भएकाले अबदेखि ग्रेटर टोरोन्टोबासी नेपालीहरुले कार्यालयमा आएर आफ्नो समस्या राख्न एनआरएनए क्यानडाले सबैलाई आग्रह गरिएको छ ।

कार्यक्रममा नेपाली अवैतनिक महाबाणिज्यदूत डा.कुन्जर शर्मा लगायत ब्राम्पटन, मिसिसागा, टोरोन्टो र स्कारबोरोबाट निर्वाचित धेरैजसो पदाधिकारिहरुको सहभागिता रहेको थियो । महासचिव पिताम्बर भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा गैर आवासीय नेपालीको बाक्लो सहभागिता थियो ।


प्रकाशित | १६ भाद्र २०७६, सोमबार २०:३९