पदमा पुग्नका लागि जति पनि लगानी गर्ने गलत प्रवृत्ति मौलायो : डा. अर्जुन बञ्जाडे

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका उम्मेदवार रहनु भएको डा. अर्जुन बञ्जाडेले पदमा पुग्नका लागि जति पनि लगानी गर्ने गलत प्रवृत्ति मौलाएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । निर्वाचनमा पराजीत भएपछि प्रतिक्रिया दिनुहुँदै डा. बञ्जाडेले चुनावमा विकृति मौलाएकोमा चिन्ता ब्यक्त गर्नु भएको हो ।

निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको डा. बञ्जाडेले संस्थामा जति पनि खर्च गरेर जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने गलत प्रवृत्ति हावी भएको बताउनु भयो । संस्थालाई कसरी अगाडि बढाउने, स्रोत र साधन कसरी जुटाउने भन्ने भन्दा पनि पदमा पुग्न जे पनि गर्ने कार्यले संस्थाको भविष्यमाथि नै प्रश्नचिन्ह्र खडा गरेको उहाँले बताउनु भयो ।

निर्वाचनमा ठूलो लगानी गरेर पदमा पुग्नु भन्दा आफै फाउन्डेसन खोलेर सामाजीक क्षेत्रमा ठूलो योगदान गर्न सकिने पनि उहाँले बताउनु भयो । निर्वाचनको सिलसिलामा तडकभडक, भोजभतेर, नाचगान बढी नै भएको उहाँको भनाइ छ । उहाँले गैरनाफामूलक संस्थामा चाहिने भन्दा बढी नै महत्व दिन आवश्यक नभए पनि संस्थाको उद्देश्यभन्दा विपरीत कार्य भएको बताउनु भयो ।

आफू जिम्मेवारीमा नरहे पनि अभियानबाट टाढा नहुने र निर्वाचनमा पराजीत हुँदैमा कत्ति पनि हतोत्साहित नभएको बताउनु भयो । ‘निर्वाचनको नतिजाले कती पनि हतोत्साहित बनाएको छैन’, उहाँले भन्नु भयो, ‘आगामी दिनमा एनआरएनएको लाईभ टाइम सदस्यको रुपमा सक्रिय हुनेछ, विकृति हटाउन वर्तमान कार्यसमितिका साथीहरुलाई सहयोग, सुझाव दिनेछ र गलत कार्यको आलोचना गर्दै कमजोरी पहिल्याउँदै सुधार्न पहल गर्नेछु ।’

त्यस्तै, उहाँले निर्वाचनको सिलसिलामा संस्थाका अगुवा ब्यक्तीहरुले खुलेर संस्थाभित्र देखिएको विकृतिको समर्थन गरेकोमा पनि दु:ख ब्यक्त गर्नु भयो । संस्थाका अगुवा ब्यक्तीहरुले राम्रो सुझाव दिनुपर्नेमा विकृति फैलाउन सहयोग गर्नु थप चिन्ताको विषय भएको उहाँले बताउनु भयो ।

निर्वाचनले एकातर्फ थोरै भए पनि आसा जगाएको पनि उहाँले बताउनु भयो । यो पटकको निर्वाचनमा ठूलो संख्यामा बौद्धिक ब्यक्तीत्व, स्वतन्त्र ब्यक्तीहरु अभियानमा जोडिएको बताउँदै उहाँले आफूले पाएको मत बौद्धिक ब्यक्तीत्व तथा स्वतन्त्र मतदाताबाट पाएको मत भनेर पनि विश्लेषण भइरहेको र छुट्टै स्वतन्त्र ब्यक्तीहरुको तेस्रो धारको रुपमा अगाडि बढेको पनि बताउनु भयो ।


प्रकाशित | २० जेष्ठ २०७८, बिहीबार १०:१७