एनआरएनएलाई आइएलओको ५ करोड सहयोग, मलेसिया, युएई, कतार र साउदी अरबका नेपालीको सहयोगार्थ खर्चीने

काठमाडौं : संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले आइएलओ र गैर आवासीय नेपाली संघ बीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी गराउनुभयो ।

केसीले गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभा तथा ज्ञान सम्मेलनलाई सम्वोधन गर्दै आएलओको सहयोग बारे जानकारी दिनुभएको हो । संघका अध्यक्ष कुमार पन्तले आइएलओको निर्णय स्वागत योग्य भएको बताउनुभयो । उहाँले गैर आवासीय नेपाली संघप्रति विश्वभरका नेपाली लगायत अन्तर्राष्ट्रिय समुदायको समेत भरोसा रहेको भन्ने सन्देश गएकाले आएलओको आर्थिक सहयोग दिएको जानकारी गराउनुभयो ।

एनआरएनए महासचिव डा. हेमराज शर्माका अनुसार कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ आइएलओले सो आर्थिक सहयोग गर्न लागेको हो । संघका अनुसार कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्न र श्रमिकको हितका लागि सो रकम खर्चिने छ । संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ ।

महासचिव डा. शर्माका अनुसार आइएलओबाट प्राप्त सहयोगले नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने भएको छ । सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रोपोजल तयार पार्नुभएको थियो ।

त्यस्तै, कोषाध्यक्ष महेश श्रेष्ठले संस्थामा अन्तराष्ट्रिय मापदण्ड अनुरुपको लेखा प्रणाली ( Accounting system ) तथा आर्थिक अनुशासन र पारदर्शीता कायम भएसँगै आगामी दिनमा पनि थप अन्तर्राष्ट्रिय नियोगहरुबाट यस्तै सहयोग प्राप्त गर्न सक्ने बाटो खुला भएको बताउनुभयो । कोषाध्यक्षमा श्रेष्ठ आउनुभएपछि संस्थामा आर्थिक पारदर्शीता र अनुशासनको शूरुवात भएको छ।

आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।


प्रकाशित | २० असार २०७७, शनिबार १०:१९