अक्सिजन कन्सल्ट्रेटर अभियानमा गोरखा समाज अष्ट्रेलियाको १५ लाख सहयोग

काठमाडौँ । गोरखा समाज अष्ट्रेलियाले गोरखा जिल्लामा १५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्वास्थ्य चौकीहरुमा १÷१ थान प्राथमिक ऊपचार केन्द्रहरुमा २÷२ थान र अस्पतालहरुमा ४÷४ थान अक्सिजन कन्सलट्रेटर दिने उद्देश्यका साथ सन्चालित १ अक्सिजन कन्सलट्रेटर २ जीवन दान अभियानमा गोरखा समाज अष्ट्रेलियाले सो सहयोग गरेको हो ।

प्रकाश बस्ताकोटीको नेतृत्वमा रहेको संस्थाले आज नै सो सहयोग रकम अक्सिजन कन्सलट्रेटर खरिद गर्नको लागी रकम पठाएको छ । करिब २ हप्ता सन्चालित सो अभियानमा अष्ट्रेलियाबासी नेपाली,गोरखालीहरुले खुलेर सहयोग गरेका थिए । कोरोनाको दास्रो लहरका कारण मातृभूमिमा पर्न गएको पिडालाई कम गर्न लागिपर्ने सहयोगी मनहरुप्रति गोरखा समाज अष्ट्रेलियाका महासचिव योगेन्द्रराज जोशीले आभार व्यक्त गर्नु भयो ।

ग्लोबल गोरखा समाजले नेपालमा कोरोनाका कारण अस्तव्यस्त रहेको जनजिवन रक्षाका लागि विभिन्न सहयोग जुटाउँदै आएको छ । ग्लोबल गोरखा समाजले प्रवासमा रहेका गोरखा समाजहरु लाई पत्राचार गर्दै मानव जीवन रक्षार्थको कार्यमा सहयोग गर्न अपिल गरेको थियो । सोही कारणनै विभिन्न देशहरुबाट सहयोग जुटेको भन्दै समाजका उपाध्यक्ष आनन्द श्रेष्ठले खुशी व्यक्त गर्नु भयो ।

आफ्नो गृह जिल्ला गोरखामा आइपर्ने हरेक समस्याहरुलाई पार लगाउनका लागि समाज निरन्तर लागि पर्दै आएको छ । सोही कारण नै समाज सबै देशका समाजहरुको अभिभावक संस्था हो भन्ने समेत प्रमाणित भएको विश्लेषण हुन थालेको छ ।

गोरखा समाज अष्ट्रेलियाका निवर्तमान अध्यक्ष तथा ग्लोबल गोरखा समाजका महासचिव त्रिलोचन पोखरेलले अभियानमा सहयोग गर्नु हुने सबैप्रति आभार व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा पनि ग्लोबल गोरखा समाजसंग सहकार्य गर्दै सामाजिक क्षेत्रमा निरन्तर लाग्नु पर्नेमा जोड दिनु भयो ।

ग्लोबल गोरखा समाजका उपाध्यक्ष, स्वास्थ्य विभाग प्रमुख गोकर्ण प्रसाद ढकालको संयोजकत्वमा रहेको खरिद समितिले पहिलो चरणको अक्सिजन कन्सलट्रेटर खरिदका लागी चीन स्थित कम्पनीमा करिब ५० थान बराबर पैसा पठाएको जानकारी समाजका कोषाध्यक्ष आकाश बन्जाराले जानकारी दिनुभयो ।

अक्सिजन कन्सलट्रेटर खरिद पश्चात समाजले गोरखा जिल्लाका सरोकारवालाहरुसंग परामर्श र समन्वय गर्दै कोरोना संक्रमण भएका क्षेत्रहरुको पहिचान र आवश्यकता लाई मध्यनजर गर्दै हस्तान्तरण गर्ने तयारी समेत गरि रहेको समाजका सचिव विराट खनालले जानकारी दिनु भयो ।

समाजका अध्यक्ष विनय अधिकारीले विभिन्न देशहरुमा रहेका समाजहरुबाट सहयोग रकम आऊने क्रम जारी रहेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले सहयोग आऊन बाँकी रहेका देशहरुमा पनि अभियान सन्चालन भई रहेको जानकारी दिनु भयो ।

विभिन्न देशहरुबाट आएको सहयोगले आफु निकै नै उत्साहित रहेको बताउँदै उहाँले यति धेरै ठुलो सहयोग रकम पठाएकोमा गोरखा समाज अष्ट्रेलिया प्रति ऊच्च सम्मान व्यक्त गर्नु भयो ।

अधिकारीले पहिलो चरणको सहयोग स्वास्थ्य सामाग्री रु ८ लाख बराबरको गोरखा समाज जापानको सहकार्यमा पुर्याई सकेको ,दोस्रो चरणमा करिब ५० थान अक्सिजन कन्सलट्रेटर जाने र त्यस पश्चात आवश्यकताको पहिचान पश्चात मात्र तेस्रो चरणको सहयोग पठाईने समेत जानकारी दिनु भयो ।

अधिकारीले मातृभुमी दुखेको समयमा यस अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीमनहरु प्रति हार्दिक आभार प्रकट गर्नुका साथै यस पवित्र कार्यमा जोडिन सम्पुर्ण प्रवासी गोरखालीहरु लाई अनुरोध समेत गर्नु भएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७८, सोमबार २१:२८