नेकपा सचिवालय बैठक : विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिइनुपर्ने निष्कर्ष

काठमाडौँ : नेकपा सचिवालय बैठकले संसदमा छलफलमा रहेको प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गर्दै नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेको छ । वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय नेकपाले गरेको हो ।

नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निष्कर्ष सुनाउँदै गैर आवसीय नेपालीको हकमा भने सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्र पाउनसक्ने बताउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार नेपाली पुरुष नागरिकसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने अङ्गीकृत नागरिकताको प्रावधानबारे विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि मात्र सम्बन्धितले वैवाहिक अङ्गीकृत नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेको हो । नागरिकता संशोधन विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेको छ ।


प्रकाशित | ६ असार २०७७, शनिबार १३:१८