सुदूरपश्चिममा वर्तमान सरकारलाई नै निरन्तरता दिने एमालेको निर्णय

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले त्रिलोचन भट्ट नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको छ । आज बिहान बसेको एमाले संसदीय दलको बैठकले माओवादी केन्द्रका नेता भट्ट नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो । हिजो आपसी विवादका कारण बस्न नसकेको बैठक आज बसेको हो ।

बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका थिए । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना सदस्य अनुपस्थित थिए । अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु बोहोरा र लीलाधर भट्ट हुनुहुन्छ भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित हुनुहुन्थ्यो ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विवादबीच प्रदेश संसदीय दलले यस्तो निर्णय गरेको हो । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै प्रदेश संसदीय दललाई प्रक्रिया थाल्न निर्देशन दिएको थियो । तर एमालेको माधवन नेपाल पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले केन्द्रको नीति विपरीत निर्णय गरेको हो ।

एमालेका सभामुखसहित २५, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सांसद छन् ।


प्रकाशित | १२ जेष्ठ २०७८, बुधबार १३:४१