एनआरएनए कोरियामा सदस्यता भर्न छुटेकाहरुले पुनः फारम भर्न सक्ने

सौल। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आगामी कार्यकालको लागि एमआइएस सिस्टमबाट आह्वान गरेको सदस्यता वितरण अभियानमा छुटेकाहरुले स्मार्ट एनआरएनए मोबाइल एपबाट सदस्यता फारम भर्न सक्ने भएका छन् ।

संघका महासचिव डा. विमल गौतमका अनुसार एनआरएनएले तोकेको मापदण्ड पूरा गरी स्मार्ट एनआरएनए मोबाइल एपबाट सदस्यता फारम भरेका र फारम भर्दै गर्दा केही प्राविधिक समस्या आई आवश्यक कागजजात बुझाउन नपाएका वा सदस्यता आवेदनका लागि न्युनतम स्मार्ट एनआरएनए मोबाइल एप डाउनलोड गरेका तर भेरिफिकेशन कोड प्राप्त नगरेका कारण ड्राफ्टमा फोल्डरमा गएका पंजीकृत सदस्यता आवेदकहरुले मात्र पुनः आवेदन भर्न पाउने भएका हुन् ।

पंजीकृत शुल्क आवेदक स्वयंले भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ । यहि मे २७ तारिख सम्म आवेदन प्रक्रिया पुरा गर्नका लागि समय तोकिएको छ । त्यस्तै एमआइएस सिस्टमबाट वितरण गरिएको सदस्यता वितरण अभियानमा सहभागी हुने दक्षिण कोरियामा रहेका नेपालीहरुप्रति संघका अध्यक्ष यज्ञराज सुवेदीले आभार व्यक्त गर्नु भयो ।

एमआइएस सिस्टमबाट फारम भर्ने सदस्यता संख्या (सदस्यता प्रमाण्ीत भएका र हुन बाँकी सहित ) २ हजार ४८४ रहेको छ । यस्तै ड्राफ्ट सदस्यता फारम संख्या (सदस्यता फारम भर्न बिचैमा छोडेको ) २ हजार ८७ रहेको संघले जानकारी दिएको छ ।


प्रकाशित | १० जेष्ठ २०७८, सोमबार १८:१०