क्यानडा सरकारले जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने

काठमाडौं – क्यानडा सरकारले आउँदो महिनादेखि नै कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । जनवरीमा खोप आउने विश्वासका साथ क्यानडा सरकारले वितरणको तयारी भइरहेको जनाएको छ ।

क्यानडामा खोप वितरणको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि नै खोप वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिएका हुन् । आफ्नो देशमा आउँदो महिनादेखि नै खोप वितरण गर्ने काम निकै चुनौतीपूर्ण रहेको तर तीव्र रूपमा तयारी भइरहेको उनको भनाइ छ ।

उनलाई क्यानडा सरकारले अघिल्लो हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निकायको उपाध्यक्षको रूपमा नियुक्त गरेको थियो । सरकारी अधिकारी र सेनासँग मिलेर खोप वितरणसम्बन्धी काम गर्ने जिम्मेवारी मेजर जनरल डेनी फोर्टीनलाई दिइएको छ ।

उनले डिसेम्बर ७ अर्थात् मंसिर २२ गतेदेखि खोपसम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ अर्थात् पुस १० भित्रमा सबै तयारी पूरा हुने पनि विश्वास व्यक्त गरे ।

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यहाँ १२ हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ ।


प्रकाशित | १९ मंसिर २०७७, शुक्रबार १८:१२