अस्थिर र अन्योल सरकारको विकल्प निर्वाचन नै हो : नारायणमान बिजुक्छेँ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अहिलेको परिस्थितिबाट देशलाई जोगाउने उपाय निर्वाचन नै भएको दावी गर्नु भएको छ । देशमा वर्तमान अन्यौलनग्रस्त परिस्थिति धेरै समय राख्नुनहुने बताउँदै बिजुक्छेले अहिलेलाई देश जोगाउन निर्वाचन नै उत्तम विकल्प रहेको बताउनु भयो ।

सांसद सदस्यहरूको वास्तविक सङ्ख्या र राष्ट्रपतिसमक्ष प्रम ओली तथा नेका सभापति शेरबहादुर देउवाले बुझाएको कुल सांसद सङ्ख्यामा अन्तर हुनुले राजनीतिक दलहरूभित्र अनुशासन नभएको र अराजक अवस्था बन्दै गएको सङ्केत गर्ने सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “यस्तो परिस्थितिबाट देशलाई जोगाउने उपाय निर्वाचन नै हो ।”

प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन हुन्छ भन्नेमा विश्वास गर्नुपर्ने र कदाचित चुनाव भएन भने जनताबाट आलोचना र विरोध स्वाभाविक हुने बिजुक्छेँले भन्नुभयो ।

“व्यक्तिगत र पार्टीगत हितको आँखाले हेर्दा प्रधानमन्त्रीले चालेको कदम कसैको लागि अहितकारी लाग्नसक्ला तर मलाई लाग्छ, अस्थिर र अन्योल सरकारको विकल्प निर्वाचन नै होे”, उहाँले भन्नुभयो ।

संयुक्त सरकारले निर्वाचन गर्दा धाँधली बढ्ने गरेको विगतको अनुभवको आधारमा एकै दलले निर्वाचन गर्दा राम्रो हुने प्रस्ट पार्दै उहाँले अहिलेको सरकारबाट नै निर्वाचन गराउनु उचित हुने बताउनुभयो ।


प्रकाशित | ९ जेष्ठ २०७८, आईतवार ०९:४९