मलाई प्रधानमन्त्री नियुक्त नगर्नु घोर असंवैधानिक र सर्वसत्तावादी कदम: शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको आरोप लगाउनु भएको छ ।

देउवाले शनिबार एक बिज्ञप्ति निकाल्दै भन्नु भएको छ, ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् । यी काम राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ ।’

सभापति देउवाले राष्ट्रपतिले आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेकामा पनि आपत्ति जनाउनुभएको छ । देउवाले ओली सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको पनि उल्लेख गर्नु भएको छ ।

राष्ट्रपतिले एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको आक्षेप पनि देउवाले लगाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।’


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १४:३६