नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न एनआरएनएले थाल्यो अभियान, सहयोगका लागि अपिल

न्यूर्योक । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संचालन गरिरहेको सहयोग संकलन अभियानमा हातेमालो गर्न सरोकारवाला सबैमा अपिल गरिएको छ। एनआरएनए आइसीसी उपाध्यक्ष सोनाम लामा, अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी र एनसीसी अमेरिकाका अध्यक्ष सुनिल शाहले संयुक्त विज्ञप्ती जारी गर्दै सहयोगका लागि अपिल गर्नु भएको हो ।

जारी विज्ञप्तीमा संघले नेपालको कुनै एक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने लक्ष्य राखिएको जानकारी दिदैं सो अभियानमा एकजुट हुन आब्हान गरेको हो । अन्तराष्ट्रिय समन्वय परिषद् संगको समन्वयमा जडान गर्ने उक्त अक्सिजन प्लान्टवाट स्थायी रुपमै धेरै भन्दा धेरै बिरामीले लाभ लिन सक्ने संघले विश्वास व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, “संघमार्फत संकलित हुन आउने रकमवाट नेपालको कुनै एक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने लक्ष्य राखिएको पनि सबैमा जानकारी गराउन चाहन्छौं । संघले अन्तराष्ट्रिय समन्वय परिषद्सगको समन्वयमा जडान गर्ने उक्त अक्सिजन प्लान्टवाट स्थायी रुपमै धेरै भन्दा धेरै बिरामीले लाभ लिन सक्नुहुने विश्वास गरिएको छ।”

प्लान्ट जडान गर्न करिव १ लाख २५ हजार अमेरिकी डलरको आवश्यकता पर्ने प्रारम्भिक अनुमान गरिएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सहयोग संकलनका लागि संचालनमा ल्याएको गो–फन्ड–मि मा गई सहयोग गर्न सकिने जनाएको छ ।

विपत्तमा अमेरिकामा रहेका नेपालीहरुले ठूलो सहयोग गर्दै आएकोमा एनआरएनएले आभार प्रकट गरेको छ । “अमेरिकाज क्षेत्रमा रहनु भएका गैर आवासीय नेपालीहरुले पनि विगतमा पनि ठूलो छाती बनाएर नेपालमा विभिन्न सेवामुलक कार्यका लागि गर्नुभएको योगदानको समेत स्मरण गर्दै सबैमा आभार प्रकट गर्दछौं । र फेरि एक पटक परोपकारी पुण्य कामको निम्ति अग्रसर भई हातेमालो गर्नुहुनका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछौं । अमेरिकाज क्षेत्रमा रहनुभएका संघ संस्थाहरुलाई समेत यस अभियानमा जोडिनका लागि हार्दिक अपिल समेत गर्दछौं”, विज्ञप्तीमा भनिएको छ ।

दोस्रो लहरको कोरोना फैलिएसगै नेपाल आक्रान्त बनेको छ । यतिबेला नेपाल स्वास्थ्य संकटको अवस्थाबाट गुज्रिरहेको छ । यस्तो विषम परिस्थितिमा विश्वभर रहेका गैर आवासीय नेपालीहरुले आ–आफ्नो स्थानबाट सहयोगका लागि अग्रसरता देखाईरहेका छन् । कोरोना संक्रमणले निम्त्याइरहेको संकटलाई निराकरण गर्न अझै सक्रियताका साथ लाग्नुपर्नेमा एनआरएनएले जोड दिएको छ ।


प्रकाशित | ५ जेष्ठ २०७८, बुधबार २१:२७