बार्सिलोनालाई लिभरपुलदेखि एउटै कुराको ‘डर’ !

एजेन्सी :  युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलको एक खेलमा स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुल भिड्दैछन् । पहिलो लेगको खेल आगामी मे १ मा बार्सिलोनाको घरमा हुनेछ । त्यसपछि दोस्रो लेग लिभरपुलको घरमा हुनेछ । दुवै लेगको नतिजापछि समग्रमा जित निकाल्ने टिम फाइनल पुग्नेछ । गोल संख्या बराबरी भए बढी अवे गोल (विपक्षीको मैदानमा बढी गोल) गर्ने टिम फाइनल पुग्छ ।

यसपटक बार्सिलोना र लिभरपुलको खेललाई फाइनलसरह मानिएको छ । किनभने, दुई प्रमुख उपाधि दाबेदार टिम यसपटक सेमिफाइनलमै आमेनसामने हुँदैछन् । उत्कृष्ट खेलाडीले भरिएका दुई टिम एकअर्काविरुद्ध उत्रिँदा यो खेल निकै रोमाञ्चक हुनेछ । बार्सिलोना पछिल्ला तीन सिजन लगातार च्याम्पियन्स लिगको अन्तिम आठबाटै आउट भएको टिम हो भने लिभरपुल गत वर्ष रियल मड्रिडसँग फाइनलमा पराजित टिम हो ।

बार्सिलोनालाई एउटै कुराको चिन्ता !

सो खेल आउन ६ दिन बाँकी छँदा बार्सिलोनाका प्रशिक्षकले लिभरपुलसँगको खेलबारे धारणा राखेका छन् । गत राति ला लिगामा अलाभेसविरुद्ध ०–२ को जित निकालेपछि पत्रकार सम्मेलनमा सहभागी हुँदै अर्नेस्टो भाल्भर्डेले सो खेलबारे बोलेका थिए । त्यसक्रममा बार्सिलोनामा दोस्रो सिजन बिताइरहेका भाल्भर्डेले च्याम्पियन्स लिगमा लिभरपुलसँग आफूलाई एउटै कुराको चिन्ता रहेको बताए । त्यो हो– लिभरपुलको धारिलो आक्रमण पंक्ति ।

पत्रकारले सो खेलबारे सोधेको प्रश्नमा बोल्दै भाल्भर्डेले आफू अहिले लिभरपुलको आक्रमण लाइनलाई लिएर चिन्तित रहेको बताए । ‘हामीलाई (बार्सिलोना) मुख्य चिन्ताको विषय भनेको रक्षापंक्ति कसरीलाई बलियो बनाउने भन्ने हो,’ भाल्भर्डेले भने, ‘किनभने, लिभरपुलसँग अत्यत्दै द्रुत गतिका खेलाडी छन्, सबै युवा छन् । उनीहरूको आक्रमणको गति र धार मलाई थाहा छ ।’

भाल्भर्डेले यो सिजन आफूहरूको रक्षापंक्तिमा एकरूपता नरहेको बताए । ‘गत सिजनजस्तो यो सिजन हाम्रो रक्षापंक्ति एकनाश छैन । हामीले सामान्य खेलमा पनि गोल खाएका छौं । यो कुरा म र मेरा खेलाडीलाई थाहा छ,’ भाल्भर्डेले चिन्ता जाहेर गरे, ‘जब तपार्इं ठूलो प्रतियोगिताको सेमिफाइनलमा लिभरपुलजस्तो टिमविरुद्ध खेल्दै हुनुहुन्छ भने अवश्य पनि, रक्षापंक्ति उत्कृष्ट हुनुपर्छ ।’

भाल्भर्डेले लिभरपुलविरुद्ध आफ्नो आक्रमण लाइनमा कुनै शंका नरहेको बताए । ‘मलाई विश्वास छ, हामी लिभरपुलविरुद्ध गोल गर्न सक्छौं । किनभने, हामीसँग विश्वकै उत्कृष्ट खेलाडी छन्,’ भाल्भर्डेले भने, ‘अहिलेलाई यत्ति भनौं, यो खेल ज्यादै रोमाञ्चक हुनेछ ।’

भाल्भर्डेले लिभरपुलसँगको खेलबारे योजना बनाइनसकेको बताए । ‘च्याम्पियन्स लिगअघि हामीसँग अझै एक लिग खेल बाँकी छ । सो खेलपछि मात्रै हामी च्याम्पियन्स लिगमा केन्द्रित हुनेछौं,’ उनले भने, ‘हामी लिभरपुलसँग खेल्नुअघि ला लिगाको च्याम्पियन बन्न चाहन्छौं ।’


प्रकाशित | ११ बैशाख २०७६, बुधबार २१:३८