संविधान संसोधनको विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक प्रतिनिधिसभामा लैजाने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वयनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने निर्णय गरेको हो ।

सरकारले जारी गरेको नयाँ नक्सामा अहिले रहेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नभएकाले त्यो समावेश गर्न संविधान सशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश गर्न लागिएको हो ।


प्रकाशित | ९ जेष्ठ २०७७, शुक्रबार १४:४४