एनआरएनएद्धारा ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघले मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरुले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैर आवासीय नेपालीहरुले पठाएका ५६० वटा सिलिण्डर स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई लाई हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष कुमार पन्तले स्वास्थ्य मन्त्री त्रिपाठीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, मध्यपूर्वका डिआरसी मनोज गोर्खाली, मध्यपूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मी, एनसीसी बहराईनका पूर्व अध्यक्ष श्याम तामाङ, एनआरएनए खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी लगायत मध्यपूर्व क्षेत्रका दाता तथा सहयोगीहरुका साथै संचारकर्मीहरुको सहभागीता रहेको थियो । हस्तान्तरण गरिएका अक्सिजन सिलिण्डर सुदूरपश्चिम र कर्णालीलाई एक एक सय थान, लुम्बिनीलाई २ सय थान, प्रदेश १ लाई ८५ थान र गण्डकीलाई ७५ थान पठाइएको हो ।

संघका अध्यक्ष पन्तले नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत थप सहायता पनि आउने क्रममा रहेको बताउनुभयो । पन्तका अनुसार थप ६७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने तयारी भइरहेको छ ।

नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन शनिबार नेपाल पठाएका थिए ।

उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले गरेको थियो भने अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमानले खरिद गरेको हो ।


प्रकाशित | २ जेष्ठ २०७८, आईतवार १२:१२