निर्धारित समयभित्रै निर्वाचन हुन्छः मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताउनुभयो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोक्नुभएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ ।
मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडिचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताउनुभयो ।
उहाँले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरेर लैजाने अठोटकासाथ लागिएको भएपनि स्थायित्व र स्थिरताको राजनीति नआएपछि अब स्थिरताको पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधिसभा भङ्ग गरेर बाध्यात्मक ढङ्गले निर्वाचनको विकल्पमा जानुपरेको उहाँको तर्क थियो ।


प्रकाशित | २८ पुष २०७७, मंगलवार १४:२२