पूर्वमन्त्री एवं कांग्रेसका पूर्वकोषाध्यक्ष ताम्राकारको अन्त्येष्टि गरिदै

काठमाडौं: नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको आज अन्त्येष्टि गरिँदैछ । पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । स्व नेता ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १०ः३० देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। ताम्राकारको पार्थिव शरीरमा पार्टी सभापति शेरहबहादुर देउवाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जिली व्यक्त गर्नुभयो । त्यस्तै कांग्रेसका नेता कार्यकर्ताहरु श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका थिए ।

स्वर्गिय ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिदैंछ । कांग्रेस बैठकले दिवङ्गत नेता ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।

त्यस्तै वैशाख ११ गते बुधबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने, १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार १५:३४