६९ औं मिस यूनिभर्समा हिमाल आरोहीको स्वरुप झल्कने नेपाली पोशाक प्रदर्शन गरिने

काठमाडौँ । ६९ औं मिस यूनिभर्समा नेपालको तर्फबाट राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने भएको छ । हरेक बर्ष विश्वभरबाट मानिसहरु हिमालका लागि नेपाल आउने गरेकोमा यस वर्ष भने मिस यूनिभर्सको माध्यमबाट हिमालहरुलाई विश्वमा चिनाइने भएको छ ।

मिस यूनिभर्स प्रतियोगिताको ६९औं संस्करणका लागि अंशिका शर्मा यसअघि नै अमेरिका प्रस्थान गरिसक्नु भएको छ । मिस युनिवर्स यही मे १६ का दिन हलिवुड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ । राष्ट्रिय पोशाक प्रदर्शन कार्यक्रम भने मिस युनिवर्स फाइनलभन्दा अघि यही मे १३, बेलुका ८ बजे (मियामी समय) र नेपाली समय मे १४ बिहान ५ः४५ मा हुदैंछ । राष्ट्रिय पोशाक पर्दशन मिस युनिवर्सको यूट्यूब च्यानलमा प्रत्यक्ष प्रसारण गरिनेछ । ६९ औं मिस यूनिभर्स प्रतियोगिता भने मे १६ बेलुका ८ बजे (मियामी समय ) मा प्रत्यक्ष प्रशारण हुँदैछ । नेपाली समय मे १७ बिहान ५ः४५ मा हुनेछ ।

मिस युनिवर्स राष्ट्रिय पोशाक कार्यक्रमका लागि अंशिका शर्माले बीना घलेको सिर्जना ’ओड टु माउन्टेनर’ (पर्वतारोहीको सम्झनामा) मा पहिरिनु हुनेछ । नेपालको राष्ट्रिय पोशाक विश्वका सबै पर्वतारोहीहरूलाई र विशेषगरी नेपालका अग्ला हिमालयका संरक्षक तथा गाइडहरू, निडर शेर्पाहरुको सम्मान स्वरूप डिजाइन गरिएको आयोजकले जनाएको छ ।

विश्वका सबैभन्दा अग्ला चुचुराहरू आरोहण गर्न सफल कयौ व्यक्तिहरुका लागि नेपालको प्रदर्शन ऐतिहासिक सावित हुने विश्वास गरिएको छ । डिजाइनर बिना घलेका अनुसार राष्ट्रिय पोशाक पर्वतारोहणका क्रममा लगाइने जम्प्सुटको डिजाइनर संस्करण हो । शेर्पा बक्खुबाट प्रेरित भइ सेतो ब्रोकेडबाट एवेरेस्ट आउट्पिट्सले सो जम्प्सुटको डिजाइन गरेको हो ।

मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठका अनुसार समाजसेवी महाबीर पुनको नेतृत्वमा नेपालको राष्ट्रिय अनुसन्धान केन्द्रले सो राष्ट्रिय पोशाकको कलात्मकतालाई आवश्यक मेकानिकल र प्राविधिक सहयोग गरेको छ । यसबाहेक, पोशाकमा शेर्पा समुदायलाई गहना र पोशाकमा रहेको कढ़ाई मार्फत पनि प्रतिनिधित्व गरिएको छ । हेडगेयर, अक्सिजन मास्क, कलर, ग्लोभज, र बुटहरूमा रहेको धातु र बहुमूल्य पत्थरहरु ३० बर्ष भन्दा बढी अनुभव भएका हस्तकलाकारहरुको मेहनत मिसिएको निर्देशक श्रेष्ठले बताउनुभयो । गहनामा रहेका सबै धातुहरूमा २४ –क्यारेट सुनको जलप लगाइएको छ भने टर्केज पत्थरको सबै भन्दा बढि प्रयोग भएको छ ।

विश्व प्रसिद्ध ‘मिस यूनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्र्याउनु भएको नग्माले सन् २०१७ को ‘मिस युनिभर्स’मा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता जनाउनु भएको थियो । सन् २०१७, २०१८ र २०१९ मा नेपालले राष्ट्रिय पोशाकमा आफ्नो परम्परा र सम्पदा सम्बन्धी प्रदर्शन गरेको थियो । ती वर्षहरुमा मिस यूनिवर्स नेपालका विजेताहरूले लगाएको डिजाइनर पोशाकहरू नेपाली आध्यात्मिकता र धार्मिकतामा आधारित थिए । यस वर्ष भने मिस युनिवर्स नेपाल २०२० ले हिमाल तथा हिमाल आरोहणमा आधारित राष्ट्रिय पोशाकका साथ नेपालको पहिचानलाई विश्वमाझ अझ बढी उचाइमा पुर्याइने विश्वास लिइएको छ ।

त्यस्तै, शीर्ष २१ स्थानमा अंशिकालाई सोझै प्रवेश गराउन भोटिङ लाइनहरू मिस युनिवर्स फाईनलको एक दिन अगाडि बिहान मे १६ सम्म गर्न सकिनेछ । मिस युनिभर्स एप (एक भोट सित्तैमा) बाट वा खल्ती डिजिटल वालेट मार्फत नेपालबाट भोट गर्न सकिनेछ । विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि ‘मिस युनिवर्स’मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।


प्रकाशित | २८ बैशाख २०७८, मंगलवार १६:४६