एनआरएनलाई संविधानले दिएको अधिकार चाँडो कार्यान्वयन होस् : बिनोद कार्की

काठमाडौं : गैर आवासीय नेपालीहरुले नागरिकता विधेयक पारित भए देशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने बताएका छन् ।

संविधानमा उल्लेख भएको सात वर्ष बितिसक्दा पनि संसदमा वर्षौदेखि अलपत्र नागरिकता विधेयक अगाडि बढेसँगै उत्साहित  गैर आवासीय नेपालीहरुले यसलाई पारित गर्न ढिलाई गर्नु नहुनेमा जोड दिएका हुन ।

विश्व सन्देशसँग कुराकानी गर्दै गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष बिनोद कार्कीले गैर आवासीय नेपालीहरुले नागरिकता पाए नेपाल र प्रवासी नेपालीबीच पुलको काम गर्ने बताउनु भयो ।

‘एक पटकको नेपाली सदैको नेपाली’ भनेझै नेपाली नागरिकता विशेष गरि नयाँ पुस्ताको लागि अती आवश्यक भएको बताउनु भयो ।

अध्यक्ष कार्कीले विदेशमा भए पनि मन भने नेपालमै हुने बताउँदै नागरिकता विधेयक पारित भएर संविधानले दिएको अधिकारलाई चाँडो भन्दा चाँडो कार्यान्वयन गर्दा नेपाललाई नै बढी फाइदा मिल्ने उल्लेख गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘विदेशमा नागरिकता लिए पनि हामी दोस्रो दर्जाकै नागरिक भएर बस्ने हो । समग्रमा देशको बाध्यता, अवसर नपाउँदा जीवीकोपार्जनको सिलसिलामा विदेश आएको यर्थात हो । त्यसैले नेपाली पहिचान नपाउँदा सबै पीडामा र दुखमै भएको अवस्थमा नागरिकता विधेयक अघि बढ्नु र कार्यान्वयनको चरणमा पुग्नु खुसीको कुरा हो ।’

गैर आवासीय नेपालीहरु विदेशमा रहे पनि सबै सम्पत्ति नेपालमै रहेको र विदेशमा कमाएको पनि नेपालमै लगानी गरिरहेकाले दोस्रो पुस्ताको लागि नेपाली नागरिकता अत्यन्तै आवश्यक रहेको उहाँको भनाई छ ।

नेपाली नागरिकताले नेपालसँग जोड्ने काम गर्ने बताउँदै तत्कालको लागि आर्थिक, सामाजीक र सांस्कृतिक अधिकार दिए पनि समय अनुसार सुधार गर्दै लग्नुपर्ने बताउनु भयो ।


प्रकाशित | ३० असार २०७९, बिहीबार २२:४६