एनआरएनएले दुई करोड वरावरको अक्सिजन कन्सनट्रेटर उपकरण सहयोग गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड प्रभावित नेपालीलाई तत्काल दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । नेपालका कोभिड प्रभावितलाई तत्कालका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु सहयोग गर्ने भएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । संघले अक्सिजन कन्सनट्रेटरहरुको खरिद तथा वितरणका लागि कोषाध्यक्ष महेश श्रेष्ठलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

अक्सिजन कन्सनट्रेटरहरु खरिद गर्न कोटेसन आह्वान गरिसकिएको र एक साताभित्रै चीनबाट खरिद गरि ल्याइसक्छौ  : कोषाध्यक्ष -महेश श्रेष्ठ

कोषाध्यक्ष श्रेष्ठले आफूलाई दिइएको जिम्मेवारीअनुसार खरिद गर्न कोटेसन आह्वान गरिसकिएको र एक साताभित्रै चीनबाट खरिद गरि अक्सिजन कन्सनट्रेटरहरु काठमाडौंमा ल्याइसकिने जानकारी गराउनुभयो ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार संघले आर्थिक पारदर्शिता कायम गर्न अक्सिजन कन्सनट्रेटरहरु खरिद तथा अनुगमन समिति समेत गठन गर्ने भएको छ । खरिद गरि ल्याइएका अक्सिजन कन्सनट्रेटरहरु एनआरएनएका मेडिकल फोलेन्टर टिमले आवश्यकताको आधारमा छनौट गरि सहयोग गर्नेछन् ।

आर्थिक पारदर्शिता कायम गर्न अक्सिजन कन्सनट्रेटरहरु खरिद तथा अनुगमन समिति समेत गठन गरिने  ।

त्यस्तै, संघको स्वास्थ्य समितिले बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा ) शुरु गरेको छ । हटलाइन सेवाका लागि करिब दुई दर्जन चिकित्सकहरु परिचालन गरिएका छन् । साथै एनआरएएनले कोभिड प्रभावितको उपचारमा अहोरात्र खट्ने नेपाली चिकित्सकहरुलाई प्रोत्साहन रुवस्प सहयोग समेत गर्ने भएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुदाहुदै पनि कोरोना भाइरस तिब्र रुपमा बढी रहँदा विरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिनुभयो ।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउदै अल्पकालिन तथा दिर्घकालीन योजना सहित अघि बढ्नु पर्ने सुझाव दिनुभयो ।

बैठकमा संघका उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितीसंग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सकृयतमा टेलिमेडिसिन संचालन भै रहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताउनुभयो ।

बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङ्गले बेलायत सरकारलाई खोप उपलब्ध गराईदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताउनुभयो ।

बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले कोरोना भाइरसको संक्रमणका बिरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जानकारी गराउनुभयो ।

संघका महासचिव डा. हेम राज शर्माले संचालन गरेको बैठकमा अमेरिका, अष्ट्रिेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिती थियो ।

बैठकमा बोल्ने बक्ताहरुले कोभिड १९ बिरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसिआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान संचालन गर्न आवश्यक रहेको सुझाव दिएका थिए । बैठकले संघका अध्यक्ष कुमार पन्त तथा अन्य संक्रमित हरुको स्वास्थ्य लाभको कामना गरेको थियो ।


प्रकाशित | २६ बैशाख २०७८, आईतवार १३:४६