कार दुर्घटना: तीन जनाको मृत्यु

सुनसरी: धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कारमा सवार इटहरी उपमहानगरपालिका–५ का अनिल श्रेष्ठ, ठेगाना नखुलेका जनक बुढाथोकी र मदन लिम्बु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारका चालक गोविन्द बस्नेत गम्भीर घाइते हुनुहुन्छ । शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरको ट्रलीमा बा २० च ४०७६ नम्वरको कार ठोक्किएको प्रहरीले जनाएको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ट्रयाक्टरमा ठोक्किएको कार उछिट्टिएर इटहरीबाट धरान जाँदै गरेको अर्को को १ ख ४७६१ नम्बरको बसमा ठोकिएको थियो। कारमा सवार ३ जनामध्ये एक जनाको घटनास्थलमै र बाँकी दुई जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार ०७:३१