राष्ट्रपति भण्डारी आज चीन जाँदै : गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखको पहिलो राजकीय भ्रमण

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार आज चीनको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । गणतन्त्र स्थापनापछि नेपालबाट राष्ट्रप्रमुखको तहमा हुन लागेको यो पहिलो राजकीय भ्रमण हो । यसअघि तत्कालीन राष्ट्रपति डा। रामवरण यादव चीन भ्रमणमा जानुभएको थियो । तर, उहाँको भ्रमण राजकीय थिएन ।

भण्डारी बिहान ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एयरलाइन्सको विशेष उडानबाट राष्ट्रपति भण्डारी बुधबार चिनियाँ राष्ट्रपतिको गृहनगर सान्सी प्रान्तको सियान जानुहुनेछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारीले १६ वैशाखमा बेइजिङमा राष्ट्रपति सीसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।

सोही दिन राष्ट्रपति भण्डारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं अनुशासन आयोगका सचिव चाओ लेजीबीच भेटवार्ता हुनेछ । त्यसअघि राष्ट्रपति भण्डारीले बिआरआई फोरम सम्मेलनमा दुईपटक सम्बोधन गर्नुहुनेछ । उच्चस्तरीय वार्ताकै दिन नेपाल र चीनबीच आधा दर्जन पत्राचार तथा प्रोटोकलमा हस्ताक्षर हुने कार्यक्रम छ ।

बिहीबार साँझ बेइजिङ फर्कने कार्यक्रम छ । शुक्रबारदेखि सुरु हुने बिआरआई फोरम सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । शनिबार र आइतबार सम्मेलनमा सहभागी भएपछि सोमबार चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार तिब्बतको ल्हासा आइपुग्ने कार्यक्रम छ । ल्हासा भएर स्वदेश फर्किने तय गरिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा  पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुवै देशका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको आगामी चीन भ्रमणका क्रममा सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने बताउनुभयो । “प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाका उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेर पनि हामीले चीनका चारवटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं,” परराष्ट्रमन्त्री ज्ञवालीले, भन्नुभयो, “यसले पारवहन सुविधालाई विविधता बनाउन र एकपक्षीय निर्भरता अन्त्य गर्न एउटा ठूलो भूमिका खेल्नेछ ।” यसका साथै अन्य थुप्रै समझदारीपत्रमा हस्ताक्षर गरिने उहाँको भनाइ छ ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०९:३७