राष्ट्रपतिको चीन भ्रमणका क्रममा यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर : परराष्ट्रमन्त्री

काठमाडौं:  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति भण्डारीको आगामी चीन भ्रमणका क्रममा सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने बताउनुभएको छ । “प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाका उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेर पनि हामीले चीनका चारवटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं,” काठमाडौंमा आयोजित साक्षात्कार बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले, भन्नुभयो, “यसले पारवहन सुविधालाई विविधता बनाउन र एकपक्षीय निर्भरता अन्त्य गर्न एउटा ठूलो भूमिका खेल्नेछ ।” यसका साथै अन्य थुप्रै समझदारीपत्रमा हस्ताक्षर गरिने उहाँको भनाइ छ ।

मन्त्री ज्ञवालीले आगामी मे महिनामा तातोपानी नाका खुल्ने जानकारी पनि गराउनुभयो । “चीनतर्फबाट रफ्तारमा काम भइरहेको छ,” उहाँले भन्नुभयो, “नेपालले कस्टम, क्वारेन्टाईन र ईमिग्रेसनलगायतका सुविधा राख्दैछ । मितेरी पुल अन्तिम चरणमा पुगेको छ ।” उहाँले नेपालको मुख्य विदेश नीति नै सबैसँग मित्रभाव राख्ने र कसैसँग पनि वैरभाव नराख्ने रहेको स्पष्ट पार्नुभयो । उहाँले विदेश ऋण र अनुदान लिँदासमेत राष्ट्रिय हितलाई केन्द्रमा र सर्वोपरि ठानेर मात्रै लिने बताउनुभयो ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १९:५२