विद्यालय बन्द होइन, सावधानी अपनाएर सञ्चालन गर्नुपर्छः प्याब्सन

काठमाडौँ । देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको उल्लेख गरिएको छ

विज्ञप्तिमा विद्यालय बन्द नगरी बरु संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ । विगतको बन्दाबन्दी पश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको उल्लेख गरिएको छ ।

आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न पनि प्याब्सनले सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको छ ।


प्रकाशित | २९ चैत्र २०७७, आईतवार १५:२९