यस्तो हुनेछ अबको एनआरएनए

कुमार पन्त 

विशेष गरि गैर आवासीय नेपाली संघ अहिले दुई वटा विषयमा केन्द्रित छ । एउटा, गैर आवासीय नेपालीको हक हितका सवाल, अर्को नेपाली नागरिकताको निरन्तरता । सर्वप्रथम विश्वभरी छरिएर रहेका ८० लाख गैर आवासीय नेपालीले नेपालको आर्थिक सम्मृद्धिमा के गर्न सक्छौ ? भनेर केन्द्रित छौ । साथै नागरिकताको विषयमा संविधानमा राजनैतिक अधिकार बाहेक आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारको नागरिकता दिने स्पष्ट उल्लेख भइसकेको छ । यस अर्थमा गैर आवासीय नेपालीले पाउँने नागरिकताको अधिकार कसैले पनि खोस्न सक्ने देखिन्न । अर्थात कमसेकम यो पुस्ता र पुरानो पुस्तालाई नागरिकता दिनबाट रोक्न सक्दैन । तर नागरिकताको विषयमा केहि सवाल गम्भिर छन । जस्तो, संविधानमा उल्लेख भएपनि नागरिकताको विषय ऐनमा लिपीबद्ध हुनुपर्ने रहेछ । ऐनमा कती पुस्तासम्मलाई नागरिकता दिने ? कस्तो कलरको पार्सपोट दिने ? कस्तो कलरको आइडी दिने ? आर्थिक, सामाजीक र साँस्कृतिक अधिकार भनेको के हो ? यसको ब्याख्या कसरी गर्ने ? भनेर हाम्रो ध्यानाकर्षीत भइरहेको छ । हामी यस विषयमा नेपालका सांसद, सबै राजनीतिक दलका नेताहरु र राज्यका निकायहरुसँग हरेक दिनजसो निरन्तर छलफल र वार्तामा छौ । तर राजनैतिक अधिकार बाहेकको नागरिकता पाउनेमा भने ढुक्क हुन सबैमा आग्रह गर्न चाहान्छु ।

यूरोपको कुरा गर्दा सबैभन्दा धेरै समस्या पोर्चुगलमा छ । २५ देखि ३० हजारको हाराहारीमा यहाँ नेपालीको बसोबास रहेको देखिन्छ । त्यसमध्ये श्रम गर्न आउनेको समस्या यहाँ ठूलो छ । मध्य पूर्व र मलेसिया पछाडि यूरोपको पोर्चुगललाई हामीले समस्या भएको देशका रुपमा राखेका छौ । पोर्चुगलमा नेपाली श्रमीकका पक्षमा धेरै काम गर्नुपर्ने छ । सोहीअनुसार हामीले गृहकार्य गरिरहेको जानकारी गराउन चाहान्छु । गैर आवासीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका श्रमीकको लागि वैदेशिक रोजगारी राहत कोष स्थापना गरेको छ । कोषमा केहि करोड जम्मा भइसकेको अवस्था छ । यूरोपमा धेरै समस्या छैनन भन्नेर विश्लेषण गरिरहँदा पोर्चुगलमा भने त्यो कोष परिचालीत गर्नुपर्छ भनेर हामी विशेष ध्यानपूर्वक लागिरहेका छौ । राहत कोष परिचालीत गर्दा यहाँका श्रमीकले पनि लाभ लिनुपर्छ भनेर हामी लागिरहेका छौ ।

नेपालमा धेरै समस्या छन् । देशमा बेरोजगारीको समस्याले रोजगारीको सिलसिलामा विदेशीनु पर्ने बाध्यता छ । त्यसैले हाम्रो प्रमुख ध्येय नेपालको आर्थिक सम्मृद्धि नै हो । त्यसैका लागि गैर आवासीय नेपालीहरुले पनि नेपालको हरेक क्षेत्रमा सकेको लगानी गरिरहनु भएको छ । नेपालमा ब्यक्तीगत रुपमा गैर आवासीय नेपालीको ठूलो लगानी छ । ब्यक्तीगत रुपमा लगानी लगिरहँदा सामूहिक लगानी गर्न सकेमा अझ नेपालको आर्थिक सम्मृद्धिमा टेवा पुर्याउन सकिन्छ भनेर हामीले सामूहिक लगानीको अवधारण अगाडि बढाइरहेका छौ । हामीले नेपालमा सामूहिक लगानीको प्रस्ताव लिएर गइरहँदा केहि जटिलता भने पक्कै छ । जस्तो, कुनै पनि कम्पनी आइपियोमा जाँदा तीन वर्ष काम गरिसकेको हुनुपर्ने ब्यवस्था रहेछ । श्रम गरेर कमाएर लगेको पैसालाई सामूहिक रुपमा ठूलो लगानी लगिरहँदा कानुनी जटिलताले नराम्रो सन्देश जान्छ कि भनेर हामीले सिधै आइपियोमा जान पाउनुपर्छ भनेर सरकासँग माग गरेका छौ । गैर आवासीय नेपालीले श्रम गरेर लगेको पैसालाई कुनै पनि कम्पनी आइपियोमा जाँदा तीन वर्ष कुर्न नपर्ने ब्यवस्था गर्न माग गरिरहेका हौ । जस्तो, विदेशबाट यसरी लगानीको कुरा गरिरहँदा आइरहने विभिन्न कानुनी कठिनाईलाई हटाउन सरकार तयार देखिन्छ । जस्तो कतीपय कानुनी जटिलता फुकाउन कुनै पनि निर्णय मन्त्रीले मात्र गरेर नहुने रहेछ, त्यो मन्त्रिपरिष्दबाटै लग्नुपर्ने रहेछ । त्यसको लागि पनि पहल गरिरहेका छौ । साथै हामीले नेपाल सरकारसँग मिलेर १० अर्ब लगानी गर्ने विषयमा सरकारसँग एमओयू गरिसकेका छौ । आगामी विश्व सम्मेलन सकिसकेपछि लगानीको विषय लिएर हामी विश्वभरी पुग्ने र छलफललाई ब्यापक बनाउने गृहकार्यमा लाग्ने यहाँहरुमा जानकारी गराउन चाहान्छु ।

गैर आवासीय नेपाली साथीहरुले लगानी मात्र नभई विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्र्याउने उद्देश्यले पहिलो पटक एनआरएन आयोजक र नेपाल सरकार सहआयोजक रहने गरि अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गरिसकेका छौ । पूँजी मात्र लगानी गर्दा मुलुकको सम्मृद्धि हुँदैन भनेर हामीले पूँजीसँगै ज्ञान, सिप र प्रविधि नै लग्ने प्रयासस्वस्प विज्ञ सम्मेलन आयोजना गरेका हौ । एनआरएनएनलाई धनीहरुको मात्र संस्था हो भनेर आरोप लागिरहँदा विश्वभरिका ३ सय भन्दा बढी विज्ञहरुको सहभागितामा विज्ञ सम्मेलन आयोजना गर्दा त्यसले निकै सकारात्मक सन्देश गएको छ । यसले विज्ञहरुलाई पनि एनआरएनप्रति आर्कषीत गराएको छ । विज्ञ सम्मेलनमार्फत बनाइएको श्वेत पत्र हामीले सरकारलाई हस्तान्तरण गरिसकेका छौ ।

अहिले गैर आवासीय नेपाली संघको ८० वटा देशमा सञ्जाल गठन भइसकेको छ । तर एनआरएनमा आबद्ध सदस्य भने ८० हजार पनि पुग नपुगको अवस्थामा छ । त्यसैले आगामी दिनमा विश्वभरि रहनु भएको ८० लाख गैर आवासीय नेपालीभाझ कसरी पुग्ने ? र, उनीहरुलाई एनआरएनए संस्थामा आबद्ध गराउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने छ । विश्व सम्मेलनपछि हामी त्यसको गृहकार्यमा समेत लाग्नेछौ । अहिले एनआरएन कार्ड उपलब्ध गैर आवासीय नेपालीहरुलाई नेपालका धेरै कम्पोरेट संस्थाले १५ प्रतिशत सम्म छुट दिने वन्दोवस्त गर्न तयार भइरहेको छ । अन्य विभिन्न क्षेत्रमा गैर आवासीय नेपाली संघमा आबद्ध सदस्यहरुलाई लाभ हुने कार्य तथा उनीहरुको हितमा केन्द्रित भएर प्याकेज ल्याउन सकेमा एनआरएनप्रतिको आर्कषण बढ्ने हामीले विश्वास लिएका छौ । आगामी दिनमा त्यस्ता गृहकार्य अगाडि बढाउन लागिपर्नेछौ । त्यसैले विश्वभरी सञ्जाल विस्तार गरिरहँदा सदस्यता विस्तार अभियान पनि चलाउनु सबैको दायित्व हुनेछ ।

एनआरएनको अबको नीति तथा कार्यक्रम के हो ? भिजन के हो ? भन्ने प्रश्न उठीरहेको छ । अबको एनआरएनको भिजन स्पष्ट छ । जस्तो, पूर्व अध्यक्ष शेष घलेको पालामा पारित भएको भिजन ट्वान्टी एन्ड वियोण्डले एनआरएनको स्पष्ट रुपरेखा तयार गरेको छ । हामी भिजन ट्वान्टी एन्ड वियोण्डलाई अबको कार्यक्रमको रुपमा लिएर अगाडि बढ्न चाहान्छौ ।

त्यस्तै, गैर आवासीय नेपाली संघले १६ वर्षको इतिहासमा अहिले आफनै भब्य सुविधासम्पन्न महल पाएको छ ।  उद्योग वाणिज्य महासंघले उपलब्ध गराएको केहि कोठामा सिमित हुनुपर्ने बाध्यतको अन्त्य गर्दै विश्वभरिका साथीहरु नेपालमा जाँदा आफनै कार्यालयमा बस्न सक्ने भब्य महल उपलब्ध छ । विश्वभरिका साथीहरुको सहयोगले गर्दा एनआरएनको आफनै भवन बनेको छ । यो गैर आवासीय नेपालीको लागि गौरवको कुरा हो । साथै एनआरएनएले थालेको लाप्राक नमुना बस्ती करिव करिव बनीसकेको छ र हस्तान्तरणको अन्तिम चरणमा पुगेको जानकारी गराउन चाहान्छु । साथै हामीले नेपाल सरकारलाई राम्रो गार्डेन र बगैचा बनाएर दिन्छौ भनेर भनेका थियो । सोही अनुरुप हामीले शख्खमूल पार्क निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेका छौ । गत महिना मात्र नेपालमा पुग्दा बागमती सफाई अभियान वर्षौदेखि चलिरहेको अवस्थामा हामीले बनाएको पार्क पुरै डुवानमा परेको देखे । त्यहाँ पुग्दा लाग्यो, हामीले बागमती सफाई अभियान नभई बागमती फोहोर नगरौ भन्ने अभियान चलाउनुपर्ने रहेछ । हामी संसारको जुनसुकै ठाउँमा बसे पनि आफनो देश जस्तो रमाइलो कुनै पनि देश छैन होला । त्यसैले गैर आवासीय नेपाली अभियान अझै सशक्त ढंगले अगाडि बढाउन सबैले एक आपसमा हातेमालो गरेर अगाडि बढ्नपर्छ ।

अन्तमा विश्वभरीका सबै साथीहरुलाई आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको विश्व सम्मेलनमा सक्रिय सहभागी भई एनआरएनएको आगामी रुपरेखा समेत तय गर्ने कार्यमा सहयोग गरिदिन सबैमा हार्दिक अपिल समेत गर्दछु । धन्यवाद ।

(गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष तथा आगामी विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार कुमार पन्तले पोर्चुगलको सातौ अधिवेशनमा ब्यक्त गर्नुभएको मन्तब्यको सारसंक्षेप )


प्रकाशित | १३ भाद्र २०७६, शुक्रबार २०:५४