समर्थन फिर्ता लिएपछि मात्र राजीनामा, यो संसदले निकास दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै आफ्नो राजीनामा आउने बताउनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजीनामा मागेको अर्को दिन प्रधानमन्त्री ओलीको प्रतिक्रिया आएको हो । आफ्नो सरकारी निवास बालुवाटारमा आयोजित सडक सिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले दिनहुँ विभिन्न थरिले आफ्नो राजीनामा माग्ने गरेको उल्लेख गर्दै समर्थन फिर्ता नभएसम्म नदिने प्रष्ट पार्नुभयो ।

संसदीय अंक गणितले राष्ट्रिय आवस्यकता पुरा गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमै जानुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले देश विकासको गतिमा लम्किएको देख्न नचाहने तत्वले सरकारको विरोध गरेको दाबी पनि गर्नुभयो । सरकारले व्यापक विकास निर्माणका काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई नरुचाउने तत्वले मुलुकमा तानाशाही आयो भनेर भ्रम फैलाएको जिकिर गर्नुभयो ।

प्रधानन्त्री ओलीले संसदीय समितिले दिएका निर्देशनप्रति पनि असन्तुष्टि जनाउनुभयो । सार्वजनिक लेखा समितिले काठमाण्डौ तराई द्रुतमार्ग निर्माणको दोश्रो प्याकेजको ठेक्का प्रक्रिय रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएकोप्रति उहाँको असन्तुष्टि थियो । समितिहरुले दिने निर्देशनले विकास निर्माणमा असर परेको प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्री ओलीले सरकारका कामको समाचार नदिएको भन्दै संचारमाध्यमप्रति पनि आक्रोश पोख्नुभयो । प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तर्फ लक्षित गर्दे विषाक्तपुर्ण राजनीति गरेको आरोप पनि लगाउनुभयो ।


प्रकाशित | २१ चैत्र २०७७, शनिबार २०:४६