एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय सह-संयोजकमा कपिलदेव थापाको उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक क्षेत्रीय सह-संयोजकमा जापानबाट कपिलदेव थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । थापाले ‘सामाजिक सेवाभावमा निरन्तरता, सर्वसुलभ शिक्षा स्वास्थ्य र कृषिमा प्रतिवद्दता” आफनो मूल मन्त्र भएको बताउनुभएको छ । लामो समयदेखि जापान बस्दै आउनुभएको थापा एनआरएनए अभियानमा सक्रिय हुनुहुन्छ ।

थापाले एनआरएनए जापानको सदस्य, उपाध्यक्ष हुँदै एनआरएनए आईसीसीको विभिन्न सामाजिक समितिहरूमा सदस्य, सह–संयोजक एवम् संयोजकको जिम्मेवारी समाली सक्नु भएको छ ।

हाल जापानबाट आईसिसी सदस्य, एनआरएनएको मानवीय कल्याणकारी सहयोग समिति, एसिया प्यासिफिक आइसीसीका संयोजक, कृषि प्रवर्द्धन समिति एनआरएनए आईसीसी सह-संयोजकको जिम्मेवारीमा हुनुहुन्छ ।

नेपाल लाईब्रेरी फाउण्डेसनका अध्यक्ष समेत रहनु भएको थापाले नेपालमा अपाङ्गता भएका व्यक्तिका लागि सयौँको सङ्ख्यामा जापानबाट व्हिलचियर र दुर्गम गाउँबस्तीका नेपालीका लागि स्वास्थ्य सेवा गर्ने उद्देश्यले एम्बुलेन्सहरू संकलन गरी नेपालमा आवश्यकताअनुसार व्यक्ति तथा संघ–संस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ ।

थापाले आफनो पहलमा अहिलेसम्म पाँच सयभन्दा बढि व्हिलचियर उपलब्ध गराइसकेको बताउनुभयो । साथै थप हजार थान व्हिलचियर नेपाल भित्र्याएर वितरण तयारी भइरहेको बताउनुभयो ।


प्रकाशित | १० आश्विन २०७६, शुक्रबार १३:१६