चुलिँदै व्यापारघाटा: चालू आर्थिक वर्षको ८ महिनामा व्यापारघाटा ८ खर्ब ८७ अर्ब

लक्ष्मी सापकोटा  /काठमाडौं 

वैदेशिक व्यापारमा नेपालको खस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशतले बढेको छ भने निर्यातको वृद्धि १५.३ प्रतिशतमात्रै छ । निर्यात परिमाणात्मकभन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण बढेको हो । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापारघाटा बढ्दै गएको हो ।

केन्द्रका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापारघाटा ८ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।आठ महिनाको तथ्यांक अनुसार मुलुकको कुल वैदेशिक व्यापार १० खर्ब १० अर्ब ३३ करोड छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले धेरै हो । पहिलो आठ महिनामा पेट्रोलियम पदार्थ ३५.५ प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब ६० करोड पुगेको छ । यसैगरी, फलाम तथा स्टिल र तिनका उत्पादनको आयात ३३.७ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब ४० करोड, मसिनरी तथा पार्ट्स ३.६ प्रतिशतले घटेर ७९ अर्ब ८६ करोड पुगेको तथ्यांक छ । यातायातका साधन र तिनका पार्टपुर्जाको आयात १४.२ प्रतिशतले बढेर ६४ अर्ब १ करोड पुगेको छ । इलेक्ट्रोनिक सामग्रीको ३९.१ प्रतिशतले बढेर ३९ अर्ब ६३ अर्ब पुगेको केन्द्रले जनाएको छ ।

अन्न आयात २१.२ प्रतिशतले बढेर ३६ अर्ब ७१ करोड अर्ब पुगेको छ । यस्तै हवाईजहाज तथा यसका पार्ट्सको आयात १ सय ५६.१ प्रतिशतले बढेर १९ अर्ब ३२ करोड पुगेको छ । सुनको आयात १३.६ प्रतिशतले बढेर २३ अर्ब ४३ करोड पुगेको छ । यसैगरी, औषधि आयात १३.६ प्रतिशतले बढेर २० अर्ब ९६ करोड पुगको छ भने पोलिथिनको आयात २३ प्रतिशतले बढेर १५.५५ अर्ब पुगेको केन्द्रको तथ्यांक छ । यस अवधिमा मुलुकबाट निकासी भएका प्रमुख वस्तुमा पोलिस्टर तथा अन्य धागो, फलाम तथा स्टिल, ऊनी गलैंचा, तयारी पोसाक, जुट तथा जुटका सामान, जुस, चिया, कपडा, अलैंची, पस्मिना सललगायत छन् ।

यस अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पोलिस्टर तथा अन्य धागोको निर्यात २३.५ प्रतिशतले वृद्धि भई ६ अर्ब ३४ करोड, फलाम तथा तिनका उत्पादनको निर्यात ३५.३ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड , ऊनी गलैंचाको ८.६ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड पुगेको छ । तयारी पोसाक निर्यात ४.१५ अर्ब पुगेको छ ।

जुट तथा जुटका उत्पादनको निर्यात ४.१ प्रतिशतले बढेर ३.७१ अर्ब पुगेको छ ।यस्तै, २ अर्ब ३५ करोडको चिया, २.२९ अर्बको टेक्सटाइल, २ अर्ब २२ करोडको अलैंची, १.५३ अर्बको पस्मिना सल १.१६ अर्बको फेल्ट, १ अर्ब ५ करोडको जडीबुटी, ९० करोडको मुसुरोको दाल र ७७ करोडको जुत्ता निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । मुलुकको वैदेशिक व्यापार साझेदार मुलुकमा भारत, अमेरिका, जर्मनी, टर्की, युके, चीन, बंगलादेश, फ्रान्स, इटाली, जापान, क्यानडा, अस्ट्रेलिया, डेनमार्कलगायत रहेका छन् ।  कारोबार दैनिक


प्रकाशित | १० बैशाख २०७६, मंगलवार ०९:५८