बेलायतबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौँ । बेलायतबाट नेपाल आउन रोक लगाएको छ । कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो ।

युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उहाँले बताउनुभयो ।

भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १९:०४