काठमाडौंको आकाशमा हानिकारक तुवाँलो कायमै, घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाशमा आज पनि तुँवालोले ढाकेको छ । हिजो दिउँसो २ बजेदेखि एकाएक आकाशमा तुँवालोले ढाकेको हो । अपराह्न भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स ३ सय २८ देखि ४ सय ४३ पुगेको छ। भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा २०४ पुगेको थियो ।

यही बेला डढेलो तथा आगलागीको धुवाँले प्रदूषण ह्वात्तै बढाइदिएको हो । बिहीबार ४५ जिल्लाका चार सय ७९ र शुक्रबार ५४ जिल्लाका चार सय ३७ स्थानमा डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालको तथ्यांक छ ।दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो ।

हावाको गुणस्तर २०० नाघ्नुलाई अति अस्वस्थकर र ३०० नाघ्नुलाई खतरनाक मानिन्छ। २०० नाघेमा वृद्धावृद्ध, बालबालिकालाई घरबाहिर ननिस्कन अलर्ट जारी गर्ने गरिन्छ भने ३०० नाघेमा सबै उमेर समूहका नागरिकको स्वास्थ्यमा असर पार्न ठानिन्छ । अपराह्नमा भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स ३ सय २८ देखि ४ सय ४३ पुगेको छ। भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा २०४ पुगेको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जनाएको छ ।

विभागका अनुसार अझै तीन दिनसम्म पानी पर्ने छैन । मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन । नेपालका मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागेको छ ।


प्रकाशित | १४ चैत्र २०७७, शनिबार ०९:०८