एनआरएनए यूके एमआइएसमा जाने, सदस्यता अप्रिल १ देखि जुन १० सम्म, शुल्क १० पाउण्ड

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी अप्रिलदेखि सदस्यता वितरण खुला गर्ने निर्णय गरेको छ । सदस्यताका लागि अप्रिल १ देखि जुन १० सम्मको समयमसीमा तोक्ने निर्णय गरेको हो । बैठकले सदस्यता शुल्क १० पाउण्ड निर्धारण गर्ने निर्णय पनि गरेको छ । प्राप्त सदस्यता आवेदनहरुलाई स्वीकृत गर्न कार्यसमितिको आगामी बैठकले ११ सदस्यीय प्रमाणिकरण समिति बनाउनेछ ।

त्यस्तै, यूकेले संघको केन्द्रीय ‘म्यानेजेमन्ट इन्फमेसन सिस्टम’ (एमआइएस) मा जाने निर्णय पनि गरेको छ । कार्यसमिति बैठकले सदस्यता व्यवस्थापनका लागि संघको केन्द्रले नै व्यवस्था गरेको सिस्टम प्रयोग गर्ने निर्णय गरेको हो ।।

म्यानेजेमन्ट इन्फमेसन सिस्टम )एमआइएस) जाने निर्णयसंगै अब एनआरएनए यूकेको डेटा एनआरएनए केन्द्रको सिस्टममा स्टोर हुनेछ । सोही सिस्टमलाई उपयोग गर्दै अनलाइन भोटिङ गर्ने कि विगतमा जस्तै मतदान केन्द्र राखेरै प्रत्यक्ष भोटिङ गराउने भन्ने दुवै विकल्प बाँकी रहनेछन् । एनआरएनए यूकेका सदस्यहरुले बुझाएको विवरण अब केन्द्रीय सिस्टममा दर्ता हुनेछ ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारीसंगै चारवटै राज्य परिषदका अध्यक्षहरु, आइसीसी महासचिव डा हेमराज शर्मा, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, दयानिधि सापकोटा, अर्कराज तिम्सिना, सुशिला राई, योगकुमार फगामी, सुरोज मास्के लगायतको सहभागिता थियो ।


प्रकाशित | ११ चैत्र २०७७, बुधबार ०८:३१