अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

काठमाडौं : सरकारले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन अर्थात ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

यो रकम ५ वर्षको लागि हो। मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका अनुसार यो कार्यक्रम सन् २०२२ देखि ०२७ सम्म लागू हुनेछ।

यो कार्यक्रम आगामी वर्षको बजेटमा समावेश गरिनेछ। विशेषगरी यो रकम शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधारमा खर्च गरिनेछ। यस्तै विद्यालय निर्माण, कृषि सुधार लगायत विभिन्न क्षेत्रमा पनि खर्च गरिनेछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले विश्व बैंकसँग १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण पनि लिने निर्णय गरेको बताउनु भयो । अनुदान सहयोगसँगै मुलुकको विदेशी विनिमय सञ्चितिमा सघाउ पुग्ने अनुमान गरिएको छ ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनु भयो ।

त्यसैगरी मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

सरकारले कपिलवस्तुको मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल र गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ ।

साथै, कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताउनुभयो ।

यस्तै, बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गरेको छ ।


प्रकाशित | २ बैशाख २०७९, शुक्रबार १७:२०