रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानको जितसँगै रियल समग्रमा ४-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियलले १-० को जित निकालेको थियो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।

खेलको ३४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए । उनको यो ७० औं च्याम्पियन्स लिग गोल हो ।

खेलको ६० औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दा रियलको अग्रता २-० को बन्यो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका रामोसले पहिलो खेलमै गोल गरेका हुन् । पहिलो लेग उनले गुमाएका थिए ।

खेलको ८३ औं मिनेटमा एट्लान्टाका लुइसले गोल गरेपछि खेल २-१ को स्थितिमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

यससँगै रियल ३६ औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको थियो ।


प्रकाशित | ४ चैत्र २०७७, बुधबार ०८:५८