पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनु पर्ने अवस्था छैन् : सुवास नेम्वाङ

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने उहाँले बताउनुभयो । कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा लिन नहुने नेम्वाङको भनाइ छ ।

‘अहिले भर्खरका घटनाक्रमहरू छन् जुन सम्मानित सर्वोच्च अदालतको फैसलाले अहिले हाम्रो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो’, उहाँले भन्नुभयो, ‘यी सबै घटनाक्रमहरू स्वभाविक हुन्। जनताले बनाएको यो संविधान अन्तरगत हामी राजनीतिक दलहरू यसलाई एउटा टुंगोमा पुर्‍याउन सक्षम छौं। पुर्‍याउँछौं। यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन।’

शनिबार शहिद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने पनि बताउनुभयो ।

उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने र सोही उम्मेदवारको नाममा राष्ट्रिय सहमति खोज्ने बताउनु भयो । राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएकोले एमाले नै उम्मेदवार खडा गर्ने उहाँको भनाई थियो ।

राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उहाँले जानकारी दिनुभयो । नेम्वाङले यस विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको बताउनु भयो ।


प्रकाशित | १४ माघ २०७९, शनिबार २१:०२