निजी सवारीलाई जिल्लाभित्र मात्र जोर विजोर लागू हुने, कार्यालय दुई शिफ्टमा सञ्चालन गर्ने

काठमाडौं : सरकारले निजी सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि उपत्यकाको हकमा उपत्यकाभित्र र जिल्लाको हकमा सम्बन्धीत जिल्लाभित्र मात्र सञ्चालन गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनीक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उपत्यका लगायत सम्बन्धित जिल्लामा निजी सवारी साधनलाई जोर बिजोर गरी चल्न दिने निर्णय भएको जानकारी गराउनुभयो ।

खतिवडाका अनुसार खुल्ला गरिएको सवारी साधनमा साइकल, मोटसाइकल र निजी सवारी चल्न पाउनेछन् । मोटरसाइकलमा १ जना र निजी सवारी साधनमा ड्राइभरसहित ३ जना मात्रै बस्न पाइनेछ ।

त्यस्तै, निजी सेवा प्रदायक संस्थाहरूका लागि पनि सवारी साधान खुल्ला गरेको जानकारी गराउनुभयो । एउटा लहरमा १ जना मात्रै यात्रु बोक्न दिने र सुरक्षाका उपाय अपनाएर संचालन गर्न सकिने खतिवडाले बताउनुभयो ।

शिक्षण संस्थाहरुका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने, त्यस्तै सरकारी वा अन्य संध संस्थाका कार्यालय दुई शिफ्टमा चलाइने खतिवडाले बताउनुभयो । उहाँका अनुसार विहान ८ देखि १ पहिलो र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।

रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने उहाँले जानकारी दिनुभयो ।

सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र भिडभाड गर्न पाइनेछैन । त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरु भने खुलाउन नपाउने निर्णय गरेको छ ।


प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार १८:३३