सौराहाको पर्यटन क्षेत्र तङ्ग्रदै, आन्तरिक पर्यटक बढे

चितवन । पर्यटकको पर्खाइमा रहेका चितवनको सौराहामा अहिले आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । कोरोनाका कारण एक वर्ष पर्यटक न्यून रहेको सौराहामा अहिले दैनिक सभा सम्मेलन र आन्तरिक पर्यटकको भीड लाग्ने गरेको हो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले भन्नुभयो ‘झण्डै एक वर्ष सुनसान जस्तै बनेको सौराहामा अहिले गतिविधि वढेको छ, यही अवस्था कायम रहेकामा बाच्न सकिने छ ।’ विदेशी पर्यटक आएका छैनन् स्वदेशी भए पनि आउनु भएको छ उहाँले भन्नुभयो ।

उहाँका अनुसार दैनिक ३० प्रतिशत होटलका कोठाहरु बुक भएका छन् । अहिलेको अवस्थामा पर्यटक आउनुलाई राम्रो मानिन्छ अध्यक्ष भट्टराइले भन्नुभयो । विदाको दिनमा ५० प्रतिशत भन्दा धेरै होटलका कोठाहरु भरिने गरेको छ ।
सरकारी तथा गैर सरकारी क्षेत्रबाट कार्यक्रम हुन थालेका छन् । दैनिक १२ देखि १५ वटा ठूला सेमिनार आयोजना भएकाले सौराहामा गतिविधि वढेको छ उहाले जानकारी दिनुभयो ।

कोरोना कहरका बीच गत भदौमा सरकारले पर्यटन क्षेत्र खुल्ला गरेपछि सौराहामा आन्तरिक पर्यटकको आगमन सुरू भएको थियो । कोरोनाको विश्वव्यापी प्रभावका कारण सौराहामा करिब दुई वर्षसम्म विदेशी पर्यटक नआउने आँकलन व्यवसायीहरुले गरेका थिए ।

नेपालमा कोरोना महामारी सुरू भएको एक वर्षमै विदेशी पर्यटक आउन थालेपछि सौराहाको पर्यटनमा आशाको किरण देखिन सुरू भएको हो । प्रतिशतका आधारमा हेर्ने हो भने स्वदेशी पर्यटकको तुलनामा विदेशी पर्यटकको संख्या ज्यादै न्यून छ । सौराहाको पर्यटकको प्रमुख आधार नै विदेशी पर्यटक हुन् ।

‘स्वदेशी पर्यटक संख्यात्मकरुपमा बढी भएपछि आर्थिक कारोबारको हिसाबले सन्तोष मान्ने ठाउँ देखिँदैन’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष भट्टराईले भन्नुभयो, ‘पर्यटनलाई जोगाउन विदेशी पर्यटक आउनैपर्छ, जुन सौराहामा सुरू भएको छ ।’

चालू आर्थिक वर्षको सात महिनामा ७१ हजार आठ जना विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । साउन महिनामा सात हजार ८१९, भदौ महिनामा ५ हजार ८६५, असोजमा नौ हजार ४०५, कार्तिकमा १५ हजार २४२, मंसिरमा १२ हजार १८३, पुसमा ८ हजार ९५४, माघमा ११ हजार ५४१ पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो सात महिनामा १३ हजार ११७ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । साउन महिनामा ८११, भदौमा ७३५, असोजमा दुई हजार १२५, कात्तिकमा दुई हजार ८५६, मंसिरमा एक हजार ६९६, पुसमा तीन हजार ६८३, माघमा एक हजार २११ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । त्यसैगरी, सात महिनामा ७४ हजार ५८४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

साउन महिनामा ८८०, भदौमा ८९९, असोजमा चार हजार १४, कार्तिकमा १८ हजार ६४१, मंसिरमा १६ हजार ३७८, पुसमा १८ हजार २०७, माघमा १५ हजार ५६५ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाको पर्यटन धानिएको छ । परिवारसहित सौराहा घुम्न आउने पर्यटकको संख्या अधिक रहेको छ । कुल आन्तरिक पर्यटकमध्ये बास बस्ने पर्यटकको संख्या ४० प्रतिशत र सौराहा घुमेर फर्कने पर्यटकको संख्या ६० प्रतिशत रहेको छ । सौराहामा दैनिक पाँच को हाराहारीमा आन्तरिक पर्यटक आएका छन् ।

आन्तरिक पर्यटकले सौराहाका सबै होटलहरु भरिन सकेका छैनन् । सौराहाका १२५ होटलमध्ये ५० बढी होटलहरुमा अहिले पनि पर्यटक छैनन् । बजार क्षेत्रका होटलहरुमा आन्तरिक पर्यटक बस्ने गरेको भए पनि भित्री सडकमा भएका होटलमा पर्यटक देखिँदैनन् । सौराहाका रेस्टुरेन्टमा पर्यटक भरिभराउ हुने गरेका छन् । दिनभरि घुमेर बेलुका घर फर्कने आन्तरिक पर्यटकका कारण रेस्टुरेन्ट चलेका छन् ।

एक महिनायता सौराहामा विदेशी पर्यटकहरु देखिन थालेको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनु भयो । ‘विदेशी पर्यटक आउन थालेपछि हामी उत्साहित भएका छौँ’, उहाले भन्नु भयो, ‘पछिल्लो एक महिनायताको अवस्था हेर्दा अब सौराहा छिट्टै पुरानै अवस्थामा फर्किने छ ।’

फेब्रुअरी महिनामा मात्र हवाइमार्गबाट चार हजार विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क नेपाल पर्यटन बोर्डसँग छ । पछिल्लो १५ दिनमा करिब दुई हजार पाँच सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटन व्यवसायीका अनुसार यो समय विदेशी पर्यटकको चहलपहल हुने अवस्था हो । चानिज र भारतीय पर्यटक आउने मौसम भएपनि ती देशबाट आउने अवस्था नरहेको व्यवसायीले बताएका छन् । सिमावर्ती क्षेत्रबाट थोरै सख्यामा भारतीय आए पनि दक्षिण भारतबाट भने नआएको पर्यटन व्यवसायी दामोदर रेग्मीले जानकारी दिनु भयो । आजको गोरखापत्र दैनीकमा प्रकाशित समाचार


प्रकाशित | ४ चैत्र २०७७, बुधबार ०८:५०