तामाकोसी आयोजनामा अर्को सफलता : ठाडो पेनस्टक पाइप राख्ने जटिल काम सम्पन्न, कात्तिकमा उत्पादन थाल्ने

कैलाश लामा /चरिकोट

दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको छ । एक महिनाअघि तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न सफल आयोजनाले आइतबार अपराह्न ४ बजे माथिल्लो ठाडो सुरुङमा समेत पेनस्टक पाइप जडान गर्न सफल भएको छ ।

योसँगै आयोजनाको ३१० मिटर लम्बाईको माथिल्लो ठाडो सुरुङ र ३७३ मिटरको तल्लो ठाडो सुरुङको काम सम्पन्न भएको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । आयोजनाको अधिकांश काम सम्पन्न भएपनि हाइड्रो मेकानिकल कार्यअन्तर्गतको ९० डिग्रीको ठाडो सुरुङ खन्नदेखि सुरुङमा पेनस्टक पाइप राख्न नसक्दा आयोजना पटकपटक पछि धकेलिँदै आएको थियो ।

अष्ट्रियन कम्पनी एन्ड्रिजले तल्लो ठाडो सुरुङमा गत जेठ १० गते नै पेनस्टक पाइप जडान गरेका थिए भने भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो ठाडो सुरुङमा आइतबार पेनस्टक पाइप जडान गर्न सफल भएसँगै आयोजनाको उत्पादन सुनिश्चित भएको छ ।

प्रवक्ता डाक्टर न्यौपानेका अनुसार माथिल्लो भर्टिकल साफ्टमा ६१ वटा पाँच मिटरको पाइप जडान गरिएको छ भने तल्लो भर्टिकल साफ्टमा ७3 वटा पाँच मिटरको पाइप जडान गरिएको छ ।
करिब पाँच महिनाको प्रयासपछि २०७६ साल असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न आयोजना सफल भएको थियो । त्यसको एक वर्षमा आयोजनाले दुवै ठाडो सुरुङमा पेनस्टक पाइप राख्न सफल भएको छ । पाँच मिटर लम्बाइ र २७ टन तौल सम्मका पेनस्टक पाइपलाई ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गरिएको हो । तल्लो भर्टिकल सुरुङ खन्दा सात पटकसम्म असफल भएको उल्लेख गर्दै आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले अव आयोजनाको कठिन काम सकिएको र कुनै बाधा नआए कात्तिकसम्म एउटा युनिट सञ्चालन गर्ने बताउनुभयो ।

स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको बाँध, डिस्याण्डिङ बेसिन, इलेक्ट्रोमेकानिकल, प्रसारण लाइन गरी समग्रमा ९९ दशमलव ५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसकाे ४७ किलोमिटर लामो प्रसारण लाइनको १२७ वटा टावर निर्माण गरी तार टाँगिसकेको छ भने दुई वटा मल्टिसर्किट टावरको काम हुन बाँकी छ । हाल मुख्य सुरुङको केही भागमा कङ्क्रिट लाइनिङ, तथा आवश्यक जोइन्टहरूमा केमिकल ग्राउटिङ गर्ने कार्य भइरहेको छ ।

लामाबगरमा निर्माण गरिएको एक सय मिटर लम्बाई र २२ मिटर उचाइ भएको बाँधमा जम्मा भएको पानीलाई डिस्याण्डिङ बेसिनमा बालुवा थिग्राउँदै आठ किलोमिटर मुख्य सुरुङ, ३१० मिटरको माथिल्लो ठाडो सुरुङ, १०० मिटको होराइजेन्टल पेनस्टक पाइप, ३७३ मिटरको तल्लो ठाडो सुरुङ र एमएसओभि हुँदै बाईफरकेसनमार्फत भूमिगत विद्युत गृहमा जडित छ वटा टरवाइन एकै पटक घुमाई ४५६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।

आठ सय २२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुख्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ ।
२०६७ भदौबाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजना ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने व्याज, प्रशासनिक खर्च लगायतका कारण व्याजसहित ४९ अरबको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ७२ अरब पुग्ने अनुमान छ । स्रोत- गोरखापत्र


प्रकाशित | १४ असार २०७७, आईतवार २०:२८