लाप्राक नमूना बस्ती आगामी बैशाख १२ भित्रै हस्तान्तरणको लागि तयारी तीब्र

काठको सहज व्यवस्था गरिदिन सिफरिस

काठमाडौं । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको लाप्राक नमूना बस्ती आगामी बैशाख १२ गतेभित्र हस्तान्तरणको तयारी तीब्र बनाइएको छ । प्रोजक्टको निर्माण कार्य सम्पन्न गर्न संघका अध्यक्ष कुमार पन्त र उपायक्ष तथा लाप्राक प्रोजेक्टका संयोजक सोनाम लामासहितको एनआरएनएको टोली नेपालमा खटिरहनुभएको छ ।

त्यसै सिलसिलामा बुधबार संघका अध्यक्ष पन्तसहितको एनआरएनएको एक टोलीले वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीसँग लाप्राक नमुना बस्तिको लागि आवश्यक ६००० क्युविक फिट काठ आपूर्तिको लागि स्वीकृति प्रदान गर्ने बिषयमा छलफल गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञावालीले संघले अत्यन्तै सुन्दर बस्ति निर्माण गर्दै गरेको र विभिन्न कारणले निर्माण कार्य केहि ढिलो भएता पनि आगामी बैशाख १२ गते भित्र बस्ति आधिकारिक रुपमा लाभग्राहिहरुलाई हस्तान्तरण गर्ने योजना रहेकोमा आवश्यक मध्य केहि काठ आपूर्तिमा देखिएको ढिलाईका कारण निर्माण कार्यमा समस्या परेकोले ६००० क्यूविक काठको सहज व्यवस्था गरिदिन सिफरिस गर्नुभयो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष पन्तले बिकटताको कारण निर्माणमा केहि ढिलाई भएता पनि विभिन्न कठिनाईका बावजुत संघ अत्यन्तै मनमोहक र सुन्दर बस्ति निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहांले नेपाल सरकारले काठको उपलब्धीमा सहजिकरण गरिदिएमा योजना अनुरुप बस्ति निर्माणको सम्पूर्ण कार्य सकिने जानकारी गराउंदै थप काठको व्यवस्था गरिदिन अनुरोध गर्नु भयो ।

मन्त्री प्रेम बहादुर आलेले नेपाल सरकारले गर्न पर्ने कार्य संघले विश्वभरि फैलिएका नेपालीहरुका सहयोग मार्फत गरेकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै छिटो आवश्यक काठको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो छलफलमा वन सचिव, वन बिभागका महानिर्देशकका साथै संघका तर्फवाट उपध्यक्ष डा. बद्री केसी, यूरोपका क्षेत्रिय उपसंयोजक कृष्ण तिमिलसिना, लाप्राक नमूना वस्ती परियोजना सहसंयोजक श्याम तामाङ्ग र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।


प्रकाशित | १२ फाल्गुन २०७७, बुधबार २१:२८