प्रदेशसभा पनि विघटन हुनसक्ने मन्त्री तुम्बाहाङ्फेको भनाई


विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताउनु भएको छ ।

सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताउनु भएको हो । पूर्वकानुनमन्त्रीसमेत रहनु भएकी तुम्बाहाङ्फेले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताउनु भयो ।
प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उहाँले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको स्पष्ट पार्नु भयो ।
संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको उहाँले बताउनु भयो । यो विधिसम्मत भएको पनि उहाँले दाबी गर्नु भयो ।
मन्त्री तुम्बाहाङ्फेले तोकिएको मितिमा चुनाव गराउन सरकार लागिपरेको बताउनु भयो ।


प्रकाशित | २० पुष २०७७, सोमबार १५:२४