प्रचण्ड–माधव समूहको विरोधका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।
गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।
यसअघि १२ पुसमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डप अगाडिको सडकमा विरोधसभा गरेको थियो । आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएकाले सो सडकखण्डमा गाडी चलेका छैनन् ।
प्रचण्ड–माधव समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्दै छ ।माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।


प्रकाशित | ९ माघ २०७७, शुक्रबार १२:२७