नेकपाको तल्लो तहको एकता घोषणा आज

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकता घोषणा आज हुँदैछ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आज तल्लो तहको एकता घोषणा गनि लागिएको हो । आइतबार सचिवालयले गरेको निर्णयअनुसार आज जिल्ला तहको नेतृत्वका लागि अध्यक्ष र सचिवका नाम सार्वजनिक गरिनेछ ।

एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ ।

आज ७१ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारी नेकपाले नाम सार्वजनिक गर्ने तयारी गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास वालुवाटारमा हिजो बसेको नेकपा सचिवालयको बैठकले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नामावली टुंगो लगाएको हो । बैठकले अबको केही दिनमा पोलिटब्यूरो गठन गरी सबै केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

पोलिटब्यूरो संख्या जम्मा केन्द्रीय सदस्यहरुको एक तिहाई हुने बताइएको छ । बैठकमा आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा ७१ औं कम्युनिष्ट पार्टी स्थापाना दिवस समारोह मनाउने निर्णय समेत गरिएको छ ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार ०९:५७